निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको एक विद्यालय भवन निर्माणसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा गरी स्थानीय तहका दुई तत्कालीन पदाधिकारीलाई मुख्य प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ।

आयोगका अनुसार बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको नमूना विद्यालय भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानपछि गाउँपालिकाको प्रशासनिक र प्राविधिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूको भूमिकामाथि परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र तत्कालीन सब(इन्जिनियर किरण भण्डारीलाई उक्त भवन निर्माण कार्यसँग सम्बन्धित प्रक्रिया, मूल्यांकन र भुक्तानीसम्बन्धी कार्यमा संलग्न देखिएकाले प्रतिवादी बनाइएको हो। आयोगले उनीहरूविरुद्ध २० लाख १ हजार ७ सय ७९ रुपैयाँ १२ पैसा बराबरको बिगो कायम गरेको जनाएको छ।

अनुसन्धानका क्रममा सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था पालना नगरी विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गरिएको, वास्तविक निर्माण कार्यभन्दा बढी मूल्यांकन गरी अन्तिम बिल तथा नापी किताबका आधारमा भुक्तानी प्रक्रिया अघि बढाइएको तथा यसबाट सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुगेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, कर कट्टा र दाखिलासम्बन्धी कानुनी दायित्व पूरा नगरिएको र विद्यालयको आन्तरिक कोष प्रयोग गरी कर दाखिला गरिएको विषय पनि अनुसन्धानको दायरामा समेटिएको जनाइएको छ।

आयोगका अनुसार यी कार्यहरू भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअनुसार कसुर ठहरिने देखिएकाले सजायको माग दाबी सहित विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको हो।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *