कृषि विकास बैंकद्धारा चेतना मा.वि.मा डिजिटल वित्तिय शिक्षा कार्यक्रम सम्पन्न
कृषि विकास बैंक लिमिटेडको सहयोगमा आईसीटी पत्रकार विकास मञ्चद्धारा मिति २०८२ माघ १६ गते टोखा नगरपालिका वडा नं. ९ स्थित चेतना महिला माध्यमिक विद्यालयमा एक दिने डिजिटल बैंकिङ्ग वित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत महिला दिदीबहिनीहरूलाई डिजिटल बैंकिङ्गको पहुँच, विस्तार र सुरक्षाबारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षकको रुपमा कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालयका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलको सहभागिता रहेको थियो ।

डिजिटल बैंकिंग कारोबार अनिवार्य आवश्यकता भएको र यसबारे सम्पूर्ण ग्राहकरुले यो के हो, यसको प्रयोग गर्न के-के कुराहरु आवश्यक पर्छ, डिजिटल बैंकिंग सेवाको प्रयोग कसरी गर्ने, सुरक्षा सतर्कता कसरी अपनाउने भन्ने विषयमा जानकारी राख्नुपर्ने प्रशिक्षाक पाैडेलले बताउनुभयाे ।
यसैगरी उहाँले आँफुलाई प्राप्त पिन, पासवर्ड र ओटिपी कोड एवं व्यक्तिगत विवरणहरु शेयर गर्न नहुने जस्ता महत्वपूर्ण विषयमा तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य गोविन्द प्रसाद भुषाल, पूर्व प्रधानाध्यापक टेक नारायण सापकोटा, प्रशिक्षक कृष्ण सापकोटा, पूर्व बैंकर सुशील पन्त र आईसीटी पत्रकार विकास मञ्चका सदस्य कृष्ण राज तिमिल्सिनाको सहभागीता रहेको थियो ।

सहभागीहरुले यस्ता तालिमले महिलाहरूको सामाजिक र आर्थिक स्तर उकास्नमा महत्वपूर्ण योगदान पुग्ने कुरा बताउनुभयो ।
यसैगरी विद्यालयकी प्रधानाध्यापक शान्ता पण्डित र सह प्रधानाध्यापक उर्मिला अमात्यले विद्यालयमा यस्तो व्यावहारिक ज्ञान प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रम आईसीटी पत्रकार विकास मञ्चका अध्यक्ष पुष्कर राज पाण्डेको अध्यक्षाता तथा पत्रकार साबित्री बस्नेत सबुको सञ्चालनमा सम्पन्न भएको थियो ।
