नेपाल र भारतबीच भन्सार सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ। नेपाल र भारतबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित वस्तु निकासी–आयात अघि सूचना आदान–प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
भारतको नयाँदिल्लीमा आयोजित औपचारिक कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्री श्यामप्रसाद भण्डारी र भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष श्री विवेक चुदरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारी अनुसार अब नेपाल र भारतबीच वस्तु निकासी–आयात अघि नै आवश्यक सूचना आदान–प्रदान हुनेछ। यसले भन्सार प्रक्रियालाई छरितो बनाउँदै जोखिम विश्लेषणमार्फत अवैध कारोबार नियन्त्रण गर्न, सीमा क्षेत्रमा समय र लागत घटाउन तथा सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भन्सार विभागका अनुसार समझदारीले इलेक्ट्रोनिक माध्यमबाट सूचना आदान–प्रदान, जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने, भन्सार प्रक्रियामा पारदर्शिता बढाउने तथा व्यापार सहजीकरणलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक भण्डारीले यस समझदारीले नेपाल–भारतबीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। ऋद्यक्ष्ऋ का अध्यक्ष चुदरीले पनि दुवै देशका भन्सार प्रशासनबीच सहकार्य विस्तार हुँदै जाने बताए।
