रौतहट घटनालाई गम्भीरताका साथ लिएका छौँ : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहट घटनालाई गम्भीरताका साथ लिइएको जनाएको छ । चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युको खबरले पार्टी स्तब्ध र मर्माहत भएको शुक्रबार जारी (माघ २३) विज्ञप्तिमा जनाएको छ ।
“यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ,” रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाको छानबिनका निम्ति स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न पार्टी प्रतिबद्ध रहेको पनि जनाइएको छ । “कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन,” विज्ञप्तिमा भनिएको छ ।
पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका निम्ति पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको रास्वपाले जनाएको छ ।
“चुनावी अभियानका क्रममा प्रयोग हुने सवारीसाधनको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उमेदवार र सवारीचालकहरूलाई कडा निर्देशन समेत जारी गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाका तर्फबाट रौतहट क्षेत्र नम्बर–२ मा उमेदवार बनेका सगिर आलमको प्रचारप्रसारमा प्रयोग गरिएको गाडीको ठक्करबाट बिहीबार (माघ २२) दिउँसो ईशनाथ नगरपालिका–४, मठिया टोलकी चार वर्षीया अलसा खातुनको मृत्यु भएको हो । बा१५च ४२४४ नम्बरको कारको ठक्करबाट बालिकाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
