सर्वोच्च अदालतमा नेतृत्व परिवर्तन, मल्लले सम्हालिन् जिम्मेवारी
काठमाडौँ । सपना प्रधान मल्ल कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश भएपछि सर्वोच्च अदालतकी बरिष्ठतम न्यायाधीश मल्लले आजदेखि उक्त जिम्मेवारी सम्हालेकी हुन् ।
नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ । सोही संवैधानिक व्यवस्थाअनुसार मल्ल स्वतः उक्त पदमा नियुक्त भएकी हुन् ।
शैक्षिक रूपमा सक्षम मल्लले त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेकी छन् भने दिल्ली विश्वविद्यालयबाट कानूनमै स्नातकोत्तर तथा अमेरिकाको हार्वर्डबाट जनप्रशासनमा स्नातकोत्तर गरेकी छन् ।
सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि उनले अन्तर्राष्ट्रिय संघसंस्था, कानून, न्याय र मानवअधिकारका क्षेत्रमा लामो अनुभव हासिल गरेकी छन् । अब उनको नेतृत्वमा सर्वोच्च अदालतको कार्य सञ्चालन अगाडि बढ्नेछ ।
