बंगलादेशमा मतदान सुरु
काठमाडौं । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएका छन् । बिहीबार ढाकास्थित विमानस्थलमा ओर्लिँदा उनलाई स्वागत गर्न एक लाखभन्दा बढी कार्यकर्ताको जनसागर ओर्लिएको थियो ।
विमानस्थलबाट बाहिरिएपछि रहमानले १३ किलोमिटर लामो ‘रोड शो’ गरेका थिए । सामान्य अवस्थामा केही मिनेट मात्र लाग्ने उक्त दूरी पार गर्न कार्यकर्ताको बाक्लो उपस्थितिका कारण तीन घण्टाभन्दा बढी समय लागेको थियो । सडकका हरेक चोकमा समर्थकहरूले उनलाई ‘भावी प्रधानमन्त्री’ का रूपमा नाराबाजी गर्दै राजकुमारझैँ भव्य स्वागत गरेका थिए ।
आज भइरहेको आम निर्वाचनमा बीएनपी सत्ताको सबैभन्दा बलियो दाबेदार मानिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यदि बीएनपीले बहुमत हासिल गरेमा तारिक रहमान नै बंगलादेशको आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ ।
यद्यपि, यस पटकको निर्वाचनमा बीएनपीका लागि बाटो पूर्ण रूपमा सहज भने छैन । देशमा कट्टर मुस्लिम पार्टी ‘जमात–ए–इस्लामी’ र युवाहरूको ढुकढुकी मानिएको ‘एनसीपी’ को लोकप्रियता पनि चुलिँदो छ । जमात–ए–इस्लामीका नेता शफिकुर रहमान र एनसीपीका युवा नेता नाहिद इस्लाम पनि प्रधानमन्त्री पदका बलिया आकाङ्क्षीका रूपमा देखिएका छन् ।
लामो समयपछि हुन लागेको यो खुला प्रतिस्पर्धाले बंगलादेशको राजनीतिलाई कुन दिशा दिने हो भन्ने कुराको फैसला आजको मतदानले गर्नेछ ।
