अनुहार फेरिए एजेन्डा फेरिएनन्, काठमाडौं-२ का उम्मेदवारहरूको साझा प्रतिबद्धता

 अनुहार फेरिए एजेन्डा फेरिएनन्, काठमाडौं-२ का उम्मेदवारहरूको साझा प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरू यतिबेला घरदैलो र टोलसभामा व्यस्त छन्।

आगामी फागुन ४ गतेदेखि मात्रै आयोगले औपचारिक प्रचारप्रसारको अनुमति दिए पनि यस क्षेत्रका उम्मेदवारहरूले मतदाता रिझाउन अन्तरक्रिया र भेटघाटलाई तीव्रता दिएका हुन्।

उम्मेदवारको संख्या र प्रतिस्पर्धा यस निर्वाचन क्षेत्रमा कुल २८ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये १६ जना विभिन्न राजनीतिक दलका तर्फबाट छन् भने १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। चुनावी मैदानमा रहेका २८ उम्मेदवारमध्ये २२ पुरुष र ६ महिला रहेका छन्।

प्रमुख प्रतिस्पर्धीहरू :

नेकपा (एमाले) : मणिराम फुयाँल

नेपाली कांग्रेस : कवीर शर्मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : सुनिल केसी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) : कुन्तीदेवी पोखरेल

श्रम संस्कृति पार्टीस् मुकुन्द कार्की

नयाँ र पुरानाबीचको भिडन्त यसपटकको निर्वाचनमा स्थापित पुराना राजनीतिक दल र नयाँ उदाएका पार्टीका प्रत्याशीहरूबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेदवारहरूले यस निर्वाचनलाई केवल हार(जित मात्र नभई जनताको विश्वासको परीक्षा का रूपमा व्याख्या गरिरहेका छन्।

एजेन्डामा लोकल’ समस्याको दबदबा संघीय संसद्को निर्वाचन भए तापनि उम्मेदवारका मुख्य एजेन्डाहरू भने स्थानीय समस्यामै केन्द्रित छन्। कोटेश्वरको अत्यासलाग्दो ट्राफिक जाम, दीर्घकालीन खानेपानी समस्या, मनोहरा कोरिडोर व्यवस्थापन र रोजगारी सिर्जनालाई सबैजसो उम्मेदवारले आफ्नो मुख्य नारा बनाएका छन्।

यसका साथै शिक्षा, स्वास्थ्य र भ्रष्टाचार नियन्त्रणका विषय पनि उम्मेदवारका प्रतिबद्धता पत्रमा समेटिएका छन्।

नीति निर्माण कि विकास संघीय शासन पद्धतिमा सांसदको मुख्य भूमिका कानुन निर्माण हुनुपर्ने भए पनि मतदाताको अपेक्षा भने सडक, ढल र खानेपानी जस्ता पूर्वाधारमै सीमित छ। उम्मेदवारहरूले पनि मतदाताको यही मनोविज्ञान बुझेर नीतिगत बहसभन्दा पनि दैनिक जीवनका समस्या समाधान गर्ने वाचा गरिरहेका छन्। कतिपय उम्मेदवारले भने स्थानीय तहले गर्ने कामको भारी संघीय सांसदलाई बोकाउन नहुने तर्क समेत अघि सार्न थालेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *