ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरको साधारण सभा सम्पन्न विष्णु हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

 ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरको साधारण सभा सम्पन्न विष्णु हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मुक्तिराम पोखरेल, सिड्नी । ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर जीएसएनएमसी ले फेब्रुअरी १५ तारिखमा सिड्नीस्थित ग्रायण्ड प्यालेस फङ्सन सेन्टर, अबर्नमा आफ़्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

यस साधारण सभाबाट बिष्णु हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा हमाल अध्यक्षमा पुन निर्वाचित हुनुभएको हो ।

संस्थाको नब निर्वाचित कार्यसमितिलाई मन खत्रीको नेतृत्वको सुजित सिग्देल र किरण अधिकारी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको थियो ।

साधारणसभामा न्यू साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत संजीव शर्मा, भुटानी नेपाली समुदायका अगुवा डा। ओम ढुंगेल लगायत विशिष्ट अतिथि सहितले अध्यक्ष हमाल, उपाध्यक्ष उमेश पन्त, महासचिब डा। प्रकाश पौडेल, कोषाध्यक्ष प्रकाश बस्ताकोटी र पब्लिक रिलेशन अफिसर महेन्द्र लम्साल सम्मिलित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो ।

मिनी नेपाल निर्माण गर्ने लक्ष्य सहित स्थापना गरिएको ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरको साधारण सभामा अध्यक्ष हमालले प्रस्तुत गर्नुभएको संस्थाले सम्पादन गरेका कार्यहरुसहितको प्रतिवेदन पारित भएको छ ।

उहाँले संस्थाको अवसर र चुनौती समेटिएको संस्थाले विगतमा गरेका काम, हासिल भएको उपलब्धि र भावी योजनाका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरी कार्यक्रममा संस्थाका महासचिव डा. प्रकाश पौडेलले प्रस्तुत गर्नुभएको महासचिवको प्रतिवेदन पारित भएको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रकास वस्ताकोटीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।

आर्थिक प्रतिवेदन पेश गर्दै वस्ताकोटीले संस्थामा सदस्यता शुल्क र सहयोगबाट अहिले ९ लाख अष्ट्रेलियन डलर जम्मा रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालका चर्चित कथा बाचक दिनवन्धु पोखरेलको उपस्थितीमा भएको महायज्ञमा ८८ जना दाताले दान गर्ने प्रतिवद्धता जनाउनुभएको २ मिलियन भन्दा बढि अष्ट्रेलियन डलरमध्ये १ लाख ३६ हजार डलर जम्मा भएको जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी न्यू साउथ वेल्थका अवैतानिक महावाणिज्य दुत संजिव शर्माले नेपालको कला, संस्कृती र संस्कार सिकाउने र जिवन्त बनाउने कार्यमा सरकारको तर्फबाट साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गनुभयो ।

कार्यक्रममा अष्ट्रेलिया सरकारका छायाँ मन्त्री मार्क जोसेफ काउरेले आफुहरु नेपाली समुदायले गर्ने संस्कृति संरक्षणको कार्यलाई पूर्ण रुपमा साथ सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले संसारका हरेक देशको कला संस्कृति जिवन्त बनाउने विषयमा नेपाल अग्रसर हुनु र यसले मूर्तरुप पाउँदै जानु सकारात्मक पक्ष रहेको भन्दै समग्र नेपालको झल्को दिनेगरी बनाउन लागिएको मिनी नेपाल निर्माणले अष्ट्रेलियाली समुदायले समेत नेपाली समाज बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा वरिष्ठ समाजसेवी इन्दिरा बन, एनआर एन ए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, एनआर एन ए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष अनिल पोख्रेल, फेन्का अष्ट्रेलियाका अध्यक्ष डा. मधु पुडासैनी, एन आर एन ए ओसिनियाका पूर्व संयोजक दिनेश पोख्रेल लगायतले आफ्नो मन्तव्य राख्दै नेपाली कला, संस्कृति, परम्परा, इतिहास र संस्कृतिलाई जिवन्त राख्ने लक्ष्य सहित सुरु गरिएको मिनी नेपाल निर्माणको असल कार्यका लागि सबैको साथ सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

यसैगरी कार्यक्रममा काउन्सिलर समिर पाण्डे, न्यू साउथ वेल्थ सरकारका बाला निर्मानुसन र थिदा याङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई लक्ष्मी बस्ताकोटीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा विष्णु हमाल, उपाध्यक्षमा उमेश पन्त र वेव बहादुर गुरुङ रहनुभएको छ । यसैगरी संस्थाको महासचिवमा डा. प्रकास पौडेल, कोषाध्यक्षमा प्रकास वस्ताकोटी, सह कोषाध्यक्षमा अमृत अचार्य रहनुभएको छ ।

संस्थाको कार्यसमिति सदस्यहरुमा वावु गौतम, प्रतिज्ञ अधिकारी, महेन्द्र लम्साल, लक्ष्मी वस्ताकोटी, मीना शर्मा, पुरुषोक्तम सडौला, कल्याणी वर्तौला, सुदर्शन थापा, सुवान्स साह, विजय पौडेल उपाध्याय, प्रिति शर्मा रहनुभएको छ । अन्य २ जना सदस्य पछि मनोनीत गरिने संस्थाले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिले ४ महिना भित्र संस्थामा २ हजार सदस्य पु¥याउने, अष्ट्रेलियाको स्थानिय सरकारसंग समन्वय, सहकार्य सहित सहायता लिई यसै वर्ष ४ हेक्टर जग्गा खरिद गर्ने लगायतका योजना बनाएको छ ।

नेपालको कला, संस्कृति, सामाजिक मूल्य मान्यतालाई निरन्तरता दिँदै नेपाल चिनाउने मिनी नेपाल निर्माणका लागि सहयोग जुटाउँदै जाने योजना निर्माण गरेको छ ।

उक्त अवसरमा कार्यक्रममा स्थापना देखी अहिलेसम्म संस्थालाई सकारात्मक र रचनात्मक साथ सहयोग गर्ने सहयोगी संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।

नेपाली कला संस्कृति सहितको वालवालीकाको प्रस्तुतीले कार्यक्रमलाई थप रोचक र मनोरञ्जनात्मक बनाएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *