‘शहीद मार्ग’ चीनको सिमानासम्म विस्तार गर्ने, मैकोटलाई पर्यटकीय केन्द्र बनाउने प्रचण्डको योजना
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो दीर्घकालीन योजना सार्वजनिक गरेका छन।
पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङबाट सुरु भएको ‘शहीद मार्ग’ लाई सहरतारा हुँदै चीनको सिमानासम्म विस्तार गरी कालोपत्रे गर्ने लक्ष्य रहेको बताए। सडकको स्तरोन्नतिसँगै मैकोट लगायतका विकट क्षेत्रहरू पर्यटकीय हबका रूपमा विकास हुने उनको दाबी छ।
सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा जनयुद्धकै समयमा आफूले दक्षिणदेखि उत्तर जोड्ने सडकको प्रस्ताव राखेको प्रचण्डले स्मरण गराए। ‘सुरुमा स्थानीय जनताले स्वेच्छिक रूपमा खन्न सुरु गरेको यो सडकलाई शान्ति सम्झौतापछि सरकारमा पुगेपछि मात्रै हामीले राज्यको गौरवको परियोजनाका रूपमा रूपान्तरण गरेका हौं,’ उनले भने।
प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेर बजेट विनियोजन गरेको सन्दर्भ उल्लेख गर्दै अब शहीद मार्गलाई पूर्ण रूपमा पिच गरी सहज आवागमन सुनिश्चित गरिने प्रतिबद्धता जनाएका छन।
प्रचण्ड नेतृत्वको टोली हाल रुकुम पूर्वका विभिन्न दुर्गम क्षेत्रको स्थलगत भ्रमणमा रहेको छ। तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे ९नयाँ बजार०, तातोपानी र हुकाम हुँदै मैकोट पुगेको यो टोली सोमबार कोल, गोलखाडा, राङ्सी, नाखाँ र जामाबगर हुँदै सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको छ।
यो सडक विस्तार भएमा रुकुम पूर्वको आर्थिक र पर्यटकीय ढोका खुल्ने मात्र नभई चीनसँगको व्यापारिक पहुँचमा समेत सहजता आउने विश्वास गरिएको छ।
