सरकारले ६ महिनामै दियो ५३ अर्ब भन्सार महसुल छुट, ४ खर्ब ८ अर्बको सामान आयात
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो ६ महिनामा विभिन्न शीर्षकमा करिब ५३ अर्ब रुपैयाँ बराबरको भन्सार महसुल छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरका मालवस्तुको आयातमा कुल ५२ अर्ब ८४ करोड ९६ लाख महसुल छुट दिइएको हो ।
मन्त्रालयको विवरण अनुसार मूल्य अभिवृद्धि कर (VAT) ऐनको प्रावधान प्रयोग गरी २ खर्ब १६ अर्बका वस्तु आयात गर्दा २९ अर्ब ७० करोड ३३ लाख रुपैयाँ छुट दिइएको छ । त्यस्तै, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सुविधा अन्तर्गत ४२ अर्ब ४० करोडका मालवस्तु पैठारी हुँदा २७ अर्ब ६९ करोड बराबरको कर सहुलियत प्रदान गरिएको छ ।
सरकारले आयोजना विकास सम्झौता बमोजिम ठेकेदारहरूले आयात गरेका ३९ अर्ब ९२ करोडका सामानमा १४ अर्ब ९७ करोड ८ लाख कर छुट दिएको छ । यसैगरी, सरकारी स्वामित्वका संस्था र सार्वजनिक सामुदायिक संस्थाहरूले गरेका ३७ अर्ब ५४ करोडको आयातमा ९ अर्ब ५० करोड कर मिनाहा गरिएको छ ।
छुटका अन्य प्रमुख क्षेत्रहरू:
कुटनीतिक सुविधा : ५९ करोड ७५ लाखको आयातमा ४८ करोड २९ लाख छुट ।
विविध छुट : १ खर्ब ४० अर्बका वस्तुमा १७ अर्ब ४० करोड ३३ लाख छुट ।
महसुल सुविधा : ८ करोड ८ लाखको पैठारीमा ४ करोड २१ लाख कर छुट ।
आन्तरिक राजस्वतर्फ न्यून छुट
भन्सार महसुलमा अर्बौँको सहुलियत दिएको सरकारले आन्तरिक राजस्वतर्फ भने तुलनात्मक रूपमा निकै कम छुट दिएको देखिन्छ । आर्थिक ऐन २०८२ बमोजिम ३ हजार ४ सय ७७ करदाताहरूले कुल ५५ करोड ५७ लाख ६० हजार बराबरको मात्रै कर छुट तथा सहुलियत प्राप्त गरेका छन् ।
