विश्वकै ठूलो एआई समिट दिल्लीमा सुरु, मोदीले गरे उद्घाटन

 विश्वकै ठूलो एआई समिट दिल्लीमा सुरु, मोदीले गरे उद्घाटन

काठमाडौँ । नयाँ दिल्लीमा सोमबारदेखि संसारकै सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन ‘एआई इम्प्याक्ट समिट २०२६’ भव्य रूपमा सुरु भएको छ।

फेब्रुअरी १६ देखि २० सम्म चल्ने यस पाँच दिने ऐतिहासिक कार्यक्रमको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन , जहाँ उनले ग्लोबल साउथको तर्फबाट एआईको भविष्य र समावेशिताका बारेमा भारतको बलियो अडान प्रस्तुत गरेका छन ।

समिटमा विश्वभरका १०० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी छन्, जसमा १५ देखि २० देशका राष्ट्राध्यक्ष, ५० भन्दा बढी मन्त्री र प्रविधि क्षेत्रका ४० भन्दा बढी प्रभावशाली सीईओहरूको उपस्थिति रहेको छ।

विशेषगरी गुगलका सुन्दर पिचाई, ओपनएआईका स्याम अल्टम्यान, माइक्रोसफ्टका ब्र्याड स्मिथ र एन्थ्रोपिकका डेरियो अमोडीजस्ता दिग्गजहरूले एआईको तीव्र विकास र यसले सिर्जना गर्ने चुनौतीका बारेमा गहन मन्थन गरिरहेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा जस्ता विश्व नेताहरूले पनि यस प्रविधिलाई मानवताको हितमा कसरी प्रयोग गर्ने भन्नेबारे आफ्ना धारणा राख्दै छन्। ५०० भन्दा बढी सत्रहरू सञ्चालन हुने यस सम्मेलनमा ५०० भन्दा बढी एआई स्टार्टअपहरूले आफ्ना नवीन परियोजनाहरू प्रदर्शन गरिरहेका छन्।

यस समिटमा मुख्य गरी एआईले रोजगारीमा पार्ने प्रभाव, भारतजस्ता देशले आफ्नै लार्ज ल्याङ्ग्वेज मोडलहरू विकास गर्नुपर्ने आवश्यकता र कृषि, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा एआई उपकरणहरूको प्रयोगका बारेमा गम्भीर बहस भइरहेको छ।

सन् २०२३ को ब्लेटचली पार्क, २०२४ को सियोल र २०२५ को पेरिस समिटपछि आयोजना गरिएको यो दिल्ली समिटले एआई केवल धनी र विकसित देशहरूको पहुँचमा मात्र सीमित नभई सबैका लागि लाभदायक हुनुपर्ने सन्देश दिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *