फोहोर व्यवस्थापनमै विदेशी चलखेल भएकाले मैले सोचेजति काम गर्न सकिनँ : बालेन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विरासतलाई चुनौती दिन काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर झापा क्षेत्र नम्बर ५ पुगेका बालेन्द्र (बालेन) साहलाई स्थानीय मतदाताले काठमाडौंको कार्यशैलीलाई लिएर प्रश्नको घेरामा पारेका छन् ।
सोमबार झापा ५ का विभिन्न बस्तीमा घरदैलो गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका बालेनले सुकुम्बासी समस्या र फोहोर व्यवस्थापनका विषयमा कडा प्रश्नहरूको सामना गर्नुपरेको छ ।
चुनावी घरदैलोका क्रममा एकजना स्थानीय प्राथमिक विद्यालयका शिक्षकले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसकेको र सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै प्रश्न गरेका थिए । जवाफमा बालेनले काठमाडौं महानगरमा काम गर्न अन्तर्राष्ट्रिय चलखेलका कारण अवरोध भएको दाबी गरे ।
‘राजधानीको मेयरलाई के कुराको कमी थियो ? तर त्यहाँ फोहोर व्यवस्थापनमै विदेशी चलखेल भएकाले मैले सोचेजति काम गर्न सकिनँ,’ बालेनले मतदातामाझ स्पष्टीकरण दिँदै भने, ‘विदेशी चलखेलकै कारण प्रधानमन्त्रीबाट समेत मलाई दबाब थियो । तर अहिले झापामा कोही विदेशी हुनुहुन्न, यहाँ नेपाली जनता मात्रै हुनुहुन्छ । त्यसैले यहाँ काम गर्न सजिलो हुनेछ ।’
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा ५ मा ओली र बालेनबीचको प्रतिस्पर्धाले देशभरको ध्यान खिचेको छ । बालेनले माघ ४ गते काठमाडौंको मेयरबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए ।
