एमालेको जित सुनिश्चित गर्न ओलीको निर्देशन ‘आफू पनि खटौँ, आफ्नालाई पनि सक्रिय बनाऔँ’

 एमालेको जित सुनिश्चित गर्न ओलीको निर्देशन  ‘आफू पनि खटौँ, आफ्नालाई पनि सक्रिय बनाऔँ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीको सुनिश्चित जितका लागि कार्यकर्ता र शुभेच्छुकहरूलाई सक्रिय हुन आह्वान गरेका छन्।

झापा क्षेत्र नं. ५ को भ्रमणका क्रममा सहकारीकर्मीहरूसँग भएको भेटघाटमा उनले केवल व्यक्तिगत मतले मात्र नपुग्ने भन्दै आफ्ना नातागोता र छिमेकीहरूलाई समेत एमालेको पक्षमा मतदान गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले देशको विकास र समृद्धिका लागि ‘सूर्य’ चिन्हमा मतदान गर्न आग्रह गर्दै कार्यकर्ताहरूलाई दुईवटा मुख्य जिम्मेवारी सुम्पिएका छन्। उनले भने, ‘पहिलो जिम्मेवारी आफू स्पष्ट भएर मतदान गर्ने र दोस्रो जिम्मेवारी आफ्नो वरपरका मानिसहरूलाई सम्झाएर पार्टीको पक्षमा जनमत सिर्जना गर्ने हो।’

सबै पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरूले आफ्नो ठाउँबाट योगदान गरेमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने उनको दाबी छ।

आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा भएका विकास निर्माणका कार्यहरू नै जितको प्रमुख आधार भएको उल्लेख गर्दै ओलीले वर्तमान सरकारको आलोचना समेत गरे। उनले एमाले सरकारको पालामा विनियोजित बजेट कटौती भएका कारण केही सडक परियोजनाहरू ठप्प भएको गुनासो गर्दै यो अवस्था लामो समय नरहने आश्वासन दिए।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति जटिल रहेको र एमालेविरुद्ध ‘घेराबन्दी’ भइरहेको भन्दै उनले त्यसलाई तोड्न पार्टी सक्षम रहेको बताए।

त्यस्तै, पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याप्रति चासो व्यक्त गर्दै अध्यक्ष ओलीले सहकारीलाई पारदर्शी बनाउन सुझाव दिए। जनताले दुःख गरेर बचाएको रकम केही व्यक्तिले दुरुपयोग गरेको र ठगी बढेकोमा चिन्ता व्यक्त गर्दै उनले सहकारीहरूलाई जनताको आर्थिक स्तर उकास्ने गरी लगानी गर्न आग्रह गरे।

सहकारी अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा भएकाले यसलाई मर्यादित बनाउनुपर्नेमा उनको विशेष जोड थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *