काठमाडौं छाडेर मधेश झरेका गगनलाई घण्टी बोकेका अमरेशकुमार सिंहको चुनौती
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ। काठमाडौं क्षेत्र नम्बर ४ को सुरक्षित विरासत छाडेर मधेश झरेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र ‘बागी’ बाट ‘रास्वपा’ बनेका वर्तमान सांसद अमरेशकुमार सिंहबीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई देशकै सबैभन्दा ‘हाइप्रोफाइल’ भिडन्तमा परिणत गरिदिएको छ। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको आन्दोलनपछि मुलुक चुनावमा होमिएकाले पनि यसपटकको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।
यस निर्वाचन क्षेत्रमा चुनावी मैदान निकै भिडभाडपूर्ण देखिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा १३ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि हुन् भने २५ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका कारण यो क्षेत्रको नतिजाले राष्ट्रिय राजनीतिमै अर्थ राख्ने देखिन्छ। अर्कोतर्फ, २०७९ को निर्वाचनमा कांग्रेसबाट बागी भएर स्वतन्त्र जितेका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी ‘घण्टी’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका छन्।
प्रतिस्पर्धामा युवा र पुराना अनुहारको रोचक मिश्रण छ। नेकपा एमालेले संविधानसभा सदस्य शिवपुजन यादवका २७ वर्षीय छोरा अमनिशकुमार यादवलाई उठाएर युवा कार्ड खेलेको छ। त्यस्तै, जनमत पार्टीबाट राकेशकुमार मिश्र, जसपा नेपालबाट रामेश्वर राय यादव र नेकपाबाट रजनिस राय जस्ता प्रभावशाली नेताहरू चुनावी दौडमा छन्। राप्रपाका प्रदीपकुमार झा, आम जनता पार्टीकी रिंकी कुमारी साह र अन्य साना दलका उम्मेदवारहरूले पनि आ-आफ्नो प्रभाव जमाउने प्रयास गरिरहेका छन्। स्वतन्त्र उम्मेदवारहरूको लामो सूचीले मत विभाजित हुने सम्भावनालाई झनै बढाएको छ।
भौगोलिक र राजनीतिक गणितका हिसाबले यो क्षेत्र निकै फैलिएको छ। सर्लाहीका ७ वटा स्थानीय तहका ५१ वटा वडा समेटिएको यस क्षेत्रमा १ लाख २१ हजार १२ जना मतदाता रहेका छन्। यहाँ धनकौल, रामनगर, बलरा र गोडैटा नगरपालिकाका सबै वडा पर्छन् भने बरहथवा, बसबरीया र विष्णु गाउँपालिकाका केही वडाहरू समेटिएका छन्। २०७९ को स्थानीय तह निर्वाचनको नतिजालाई आधार मान्दा नेपाली कांग्रेस यहाँ बलियो देखिन्छ। कांग्रेसले कुल १९ वटा वडा जितेको थियो भने तत्कालीन नेकपा (माओवादी केन्द्र, एस र हालको नेकपा) ले १२, एमालेले १० र जसपा-लोसपाले १० वडामा जित हासिल गरेका थिए।
मतको अंकगणित हेर्दा २०७९ को स्थानीय चुनावमा वडा सदस्यहरूले पाएको लोकप्रिय मतमा कांग्रेस २२,१४१ मतका साथ अग्रस्थानमा थियो। जसपा नेपालले २०,३०६ र नेकपाले १८,४२१ मत प्राप्त गरेका थिए। विगतको संसदीय निर्वाचनको इतिहास पनि निकै रोचक छ। २०७९ मा अमरेशकुमार सिंहले २०,०१७ मत ल्याएर जित्दा कांग्रेसका नागेन्द्र कुमारले १८,२५३ मत पाएका थिए। त्यसअघि २०७४ मा अमरेशले कांग्रेसबाटै २९,६७५ मत ल्याएर जितेका थिए। यसपटकको भिडन्तमा पुराना दलको विरासत जोगाउने चुनौती र नयाँ शक्तिको उदयको खोजीबीच सर्लाही ४ को नतिजाले नेपाली राजनीतिको आगामी दिशा तय गर्ने निश्चित छ।
