सहकारी क्षेत्र सुदृढीकरणका लागि साना किसानको देशव्यापी जागरण अभियान, सुशासनमा जोड
काठमाण्डौँ । नेपालको सहकारी आन्दोलनलाई अझ प्रभावकारी, पारदर्शी र दिगो बनाउने उद्देश्यसहित साना किसान विकास लघुवित्त वित्तीय संस्था लि ले देशव्यापी रूपमा “सहकारी जागरण अभियान” सञ्चालन गरिरहेको छ।
विभिन्न जिल्लामा आयोजना भइरहेका यी कार्यक्रमहरूले सहकारी क्षेत्रको वर्तमान अवस्थालाई सुदृढ बनाउँदै भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने लक्ष्य लिएका छन्।
यस अभियान अन्तर्गत आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष खेम बहादुर पाठक ले सहकारीको मूल मर्म, सिद्धान्त र यसको सामाजिक-आर्थिक महत्वबारे प्रशिक्षणात्मक मन्तव्य प्रस्तुत गर्दै सहकारीहरूलाई सदस्य केन्द्रित, उत्तरदायी र पारदर्शी बनाउनु आजको आवश्यकता रहेको औंल्याउनुभयो।
उहाँले सहकारीलाई केवल आर्थिक कारोबारमा सीमित नराखी ग्रामीण विकास, रोजगारी सिर्जना र गरिबी निवारणमा महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका अन्य सञ्चालकहरूको पनि सक्रिय सहभागिता रहेको थियो। उनीहरूले सहकारी संस्थाहरूले भोगिरहेका चुनौतीहरू, जस्तै– व्यवस्थापन कमजोरी, पारदर्शिताको अभाव, तथा सदस्य सहभागितामा आएको गिरावटबारे गहन छलफल गर्दै सुधारका उपायहरू प्रस्तुत गरेका थिए।
यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी ले सहकारीमा सुशासन कायम गर्नु नै संस्थागत सुदृढीकरणको आधार भएको बताउनुभयो। उहाँले सहकारी संस्थाहरूले स्पष्ट नीतिनियम, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र पारदर्शी वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई ले व्यवसाय विस्तारका सम्भावना र रणनीतिहरू प्रस्तुत गर्दै सहकारीहरूले आधुनिक प्रविधिको प्रयोग, नवप्रवर्तन तथा बजार उन्मुख योजनाहरू अपनाउनुपर्ने सुझाव दिनुभयो।
उहाँले सहकारी क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउन दक्ष जनशक्ति विकास र सदस्यहरूको क्षमता अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
सहकारी जागरण अभियानमार्फत संस्थाले सहकारीहरूको संस्थागत क्षमता अभिवृद्धि, वित्तीय अनुशासनको प्रवर्द्धन तथा सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यस अभियानले सहकारीहरूलाई केवल बचत तथा ऋणमा सीमित नराखी उत्पादन, प्रशोधन र बजारीकरणमा समेत सक्रिय बनाउन प्रेरित गरिरहेको छ।
विशेष गरी ग्रामीण क्षेत्रमा साना किसान, महिला तथा विपन्न वर्गलाई आर्थिक रूपमा सशक्त बनाउने सहकारीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ।
सहकारी क्षेत्रले मुलुकको समग्र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै, यस्ता जागरण अभियानहरू निरन्तर सञ्चालन गर्नुपर्ने सरोकारवालाहरूको धारणा रहेको छ।
