सुरक्षा सतर्कताका बीच रौतहटमा कर्फ्यु खुकुलो, अत्यावश्यक वस्तु खरिदमा सहजता
काठमाडौं । दुई समुदायबीच तनाव बढेपछि रौतहटमा शनिबारदेखि जारी गरिएको कर्फ्यु आइतबार (आज) पनि जारी रहनेछ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको थियो ।
सो कर्फ्यु आज साढे ६ बजेसम्म रहनेछ । त्यसपछि साढे ८ बजेसम्मका लागि संशोधनसहित केही खुकुलो बनाइएको छ ।
तर, यो समयमा पनि सभा, जुलुस तथा प्रदर्शन गर्न पाइनेछैन ।
साढे ८ पछि अर्को आदेश नआउन्जेल कर्फ्यु निरन्तर रहने जिल्ला प्रशासनले जनाएको छ ।
कर्फ्यु गौर नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म जारी गरिएको छ ।
सरस्वती पूजाको मूर्ति विसर्जन गर्न जाने क्रममा डिजे बजाएको र बाटोको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो।
एकातिर मूर्ति विसर्जन गर्न हिँडेको समूह र अर्कोतिर स्थानीय मुस्लिम समुदायका केही व्यक्तिहरूबीच भनाभन भएपछि स्थितिले उग्र रूप लिएको थियो।

