पूर्वसभामुख घिमिरे र रवि लामिछानेबिच जुहारी, माइक काटेको आरोपदेखि नैतिकताको प्रश्नसम्म
काठमाडौँ । निर्वाचनको रौनकसँगै झापाको राजनीतिक मैदानमा पूर्वसभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच तिखो ‘वाकयुद्ध’ सुरु भएको छ। चुनावी सभामा लामिछानेले दिएको भड्काउ अभिव्यक्तिप्रति घिमिरेले कडा आपत्ति जनाउँदै जवाफी हमला गरेका छन्।
मंगलबार झापा क्षेत्र नं. ३ मा रास्वपा उम्मेदवार इन्दिरा रानामगरको पक्षमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पूर्वसभामुख घिमिरेमाथि गम्भीर आरोप लगाएका थिए। उनले संसद्मा भिजिट भिसा ठगीविरुद्ध आवाज उठाउँदा तत्कालीन सभामुख घिमिरेले आफ्नो माइक काटिदिएको दाबी गरे।
लामिछानेले आक्रोश पोख्दै भनेका थिए, ‘हामीले जनताको आवाज बोल्दा सभामुखले माइक काटिदिनुभयो। आज उहाँ कुन मुख लिएर जनतासँग भोट माग्दै हुनुहुन्छ’ ।
लामिछानेको यो अभिव्यक्तिलाई पूर्वसभामुख घिमिरेले ‘संसदीय मर्यादाबाहिरको र घृणा फैलाउनेु कार्यको संज्ञा दिएका छन्। एक विज्ञप्ति जारी गर्दै घिमिरेले संसद्मा समय व्यवस्थापन र नियमावली अनुसार नै माइक काटिने अभ्यास हुने स्मरण गराएका छन्।
‘माइक काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसद्को नियमावली र पूर्वनिर्धारित समय अनुसार हुन्छ,’ घिमिरेले भनेका छन्, ‘संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन।’
आफूमाथि लागेको आरोपको खण्डन गर्दै घिमिरेले उल्टै लामिछानेको नैतिकतामाथि प्रश्न उठाएका छन्। सहकारी ठगी प्रकरणलाई लक्षित गर्दै उनले भनेका छन् ।’आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागि रहनुभएको छ ।
घिमिरेले चुनावी प्रतिस्पर्धामा व्यक्तिगत आरोप, घृणा र विभाजन फैलाउने प्रवृत्ति लामो समय नटिक्ने उल्लेख गरेका छन्। लोकतान्त्रिक अभ्यासमा दलहरूले आफ्ना योजना र एजेन्डा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै उनले अरूलाई अपराधी देखाएर आफू माथि देखिने प्रवृत्तिको विरोध गरेका छन्।
