वसन्तपुरमा ठड्याइयो चिर: काठमाडौँमा विधिवत् रूपमा फागु पर्व सुरु
काठमाडौँ । फाल्गुन शुक्ल अष्टमीको पावन अवसरमा आज बिहान काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबारअघि रङ्गीचङ्गी ‘चिर’ ठड्याइएको छ। यससँगै देशभर नेपालकै सांस्कृतिक पर्व फागु (होली) विधिवत् रूपमा सुरु भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको शुभ साइतअनुसार आज बिहान ठिक ७:१३ बजे पूर्वतर्फ फर्काएर चिर ठड्याइएको हो। निवृत्तभरण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरको समन्वयमा धार्मिक विधिपूर्वक चिरोत्थान गरिएको समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए।
चिर ठड्याइए लगत्तै वसन्तपुर क्षेत्रमा मानिसहरूले एक-अर्कालाई अबिर लगाएर र रङ खेलेर खुसी साटासाट गरेका थिए।
के हो चिरको महत्त्व?
हनुमानढोका दरबारको गद्दी बैठक नजिकै बाँसको लिङ्गोमा विभिन्न रङका कपडाहरू (हल्लोडाँडा) झुण्ड्याएर बनाइने यस संरचनालाई ‘चिर’ भनिन्छ। शास्त्रीय मान्यता अनुसार, अष्टमीका दिन चिर ठड्याएपछि उपत्यकामा होलीको आगमन भएको मानिन्छ र पूर्णिमासम्म यो उल्लास कायम रहन्छ।
