सामाजिक सञ्जालको प्रभावमा नपर्न राजेन्द्र लिङ्देनको आग्रह

 सामाजिक सञ्जालको प्रभावमा नपर्न राजेन्द्र लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।

बिहीबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी अभियानलाई सम्बोधन गर्दै उनले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न विशेषगरी युवापुस्तालाई सचेत गराए। “लहैलहैमा सामाजिक सञ्जाल हेरेर होइन, यथार्थको धरातल टेकेर निर्णय गर्नुपर्छ,” उनले भने।

लिङ्देनले यसपटकको निर्वाचन केवल एक सांसद चयन गर्ने प्रक्रिया मात्र नभई देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको उल्लेख गरे। “देशै रहन्छ कि रहँदैन भन्ने परिस्थितिमा हामी प्रवेश गरेका छौँ,” भन्दै उनले ‘नेपाल प्रथम, नेपाली प्रथम’ सोचलाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरे।

उनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिनु गल्ती दोहोर्याउनु हुने बताए। देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प भएको दाबी गर्दै उनले नयाँ–पुराना सबै राजनीतिक शक्तिलाई समन्वय गरेर अघि बढाउने क्षमता आफ्नो दलसँग रहेको उल्लेख गरे।

नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट बाहिर जान थालेको दाबी गर्दै उनले वैदेशिक हस्तक्षेप र विदेशी चलखेलप्रति सचेत रहन काठमाडौँवासीलाई आग्रह गरे। आगामी संसदमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले काठमाडौँ–२ सहित देशभर राप्रपाका उम्मेदवारलाई विजयी गराउन आह्वान गरे।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *