अर्को हप्ता नयाँ सरकार बन्छ, अब म विश्राम लिन्छु: अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आगामी हप्तासम्म मुलुकले नयाँ सरकार पाउने दाबी गरेका छन। नेपाल नागरिक लगानी कोषको वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको संकेत गरेका हुन।
निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फका सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेसँगै संवैधानिक प्रक्रिया अनुसार नयाँ सरकार गठनले तीव्रता पाउने उनले जानकारी दिएका छन। ‘नयाँ सरकार बन्ने बाटो अब लगभग खुल्नेछ, अर्को हप्तासम्म नयाँ नेतृत्व आउन सक्छ,’ मन्त्री खनालले भने।
सोही अवसरमा मन्त्री खनालले आफ्नो कार्यकाल सकिन लागेको भन्दै अब आफू विश्राम लिने मनस्थितिमा रहेको समेत खुलासा गरेका छन। उनले नयाँ आउने सरकारका लागि सद्भाव व्यक्त गर्दै आगामी चुनौतीहरूका बारेमा समेत सचेत गरेका छन।
आर्थिक सूचक र आगामी चुनौती
अर्थमन्त्री खनालले नयाँ बन्ने सरकार शक्तिशाली बहुमतसहित आउने अपेक्षा गर्दै त्यसले मुलुकको अर्थतन्त्रमा देखिएका बाह्य र आन्तरिक चुनौतीहरूको डटेर सामना गर्नुपर्नेमा जोड दिएका छन।
उनले भने, ‘शक्तिशाली बहुमतसहित आउने सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिएका संकेतहरू अनुसार कुशलतापूर्वक काम गर्न सकोस् भन्ने मेरो शुभकामना छ।’
कार्यक्रममा उनले नागरिक लगानी कोष जस्ता संस्थाहरूले देशको आर्थिक स्थायित्व र पूँजी निर्माणमा खेल्नुपर्ने भूमिकाबारे समेत चर्चा गरेका थियो।
