निर्वाचन शान्तिपूर्ण भएकोमा कृतज्ञता स्वरुप प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथमा रुद्राभिषेक
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर रुद्राभिषेक पूजा गरेकी छन्। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोप्रति कृतज्ञता व्यक्त गर्दै उनले आराध्यदेव पशुपतिनाथसमक्ष धन्यवाद अर्पण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि देशमा शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रक्रिया सुदृढ भएको सन्दर्भमा प्रधानमन्त्रीले उक्त पूजा गरेको बताइएको छ। सचिवालयका अनुसार मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अघि बढाउन सबै पक्षबाट प्राप्त सहयोगप्रति उनले आभार व्यक्त गर्दै आगामी दिनमा राष्ट्र अझ उन्नति र समृद्धिको दिशातर्फ अघि बढोस् भन्ने कामना गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीबीच आपसी एकता, सद्भाव र आत्मीयताको भावना अझ सुदृढ हुँदै जानुपर्नेमा जोड दिँदै राष्ट्रिय एकताको सन्देशसमेत दिएकी छन्।
उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायतको सहभागिता रहेको सचिवालयले जनाएको छ।
