खोटाङमा अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित हेलिकप्टर दुर्घटनाग्रस्त, एक घाइते
काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिका–२ स्थित बालाबेसी (खार्ताम्छा) क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। मंगलबार दिउँसो करिब १२ बजेर २ मिनेट जाँदा नाइन एन–एएचक्यु कलसाइनको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो।
जिल्ला प्रशासनका अनुसार हेलिकप्टर काठमाडौंबाट शव बोकेर गाउँ पुगेको थियो। शव ओरालेर फर्किने क्रममा अवतरण गर्दा हावाको तीव्र वेगका कारण हेलिकप्टर अनियन्त्रित भई भित्तामा ठोक्किएर पल्टिएको प्रारम्भिक विवरणमा उल्लेख छ।
सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार दुर्घटना सामान्य प्रकृतिको भए पनि मानवीय क्षति भएको छैन। यद्यपि, घटनामा स्थानीय ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको र उनलाई थप उपचारका लागि अर्को हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
हेलिकप्टरमा चालक सविन थापासहित पाँच जना यात्रु सवार रहेका थिए, उनिहरुको अवस्था सामान्य रहेको बताइएको छ।
