नेपाल दक्षिण एसियामै इन्टरनेट गतिमा पहिलो, विश्वमा ८९औँ स्थान
काठमाडौं । नेपालले इन्टरनेट गतिको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै दक्षिण एसियाली राष्ट्रहरूमध्ये पहिलो स्थान कब्जा गरेको छ। विश्वस्तरमा भने नेपाल ८९औँ स्थानमा पुगेको छ।
विश्वप्रसिद्ध इन्टरनेट गति मापन संस्था ओकला’ले सार्वजनिक गरेको सन् २०२६ जनवरीको ‘स्पिडटेस्ट ग्लोबल र्याङ्क’ अनुसार नेपाल ८४.३८ एमबीपीएस औसत गतिको साथ क्षेत्रीय रूपमा अग्रस्थानमा उक्लिएको हो।
नेपालले भारत, बङ्गलादेशजस्ता ठूला अर्थतन्त्र भएका छिमेकी देशहरूलाई समेत पछि पार्दै दक्षिण एसियामा अग्रता कायम गरेको छ। बङ्गलादेश ६४.३७ एमबीपीएससहित ९६औँ र भारत ६१.६७ एमबीपीएससहित ९८औँ स्थानमा रहेका छन्।
विश्वव्यापी रूपमा भने सिङ्गापुर ४१६.१० एमबीपीएस गतिको साथ शीर्ष स्थानमा छ भने संयुक्त अरब इमिरेट्स र फ्रान्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
नेपालको यो उपलब्धिको मुख्य कारण ‘लास्ट माइल’सम्म फाइबर नेटवर्कको व्यापक विस्तार मानिएको छ। नेपालमा इन्टरनेट सेवा प्रदायकहरूले ‘गिगाबाइट प्यासिभ अप्टिकल नेटवर्क’ (जिपोन) प्रविधि प्रयोग गर्दै उच्च गतिको सेवा उपलब्ध गराइरहेका छन्।
विशेषज्ञहरूका अनुसार बजारमा बढ्दो प्रतिस्पर्धा, न्यूनतम ५० एमबीपीएसभन्दा माथिका प्याकेजको प्रयोग र आधुनिक प्रविधिको विस्तारले नेपालमा इन्टरनेटको औसत गति उल्लेखनीय रूपमा बढाएको हो।
यो उपलब्धिलाई डिजिटल पूर्वाधार विकासतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। आगामी दिनमा फाइबर नेटवर्क विस्तार र डेटा केन्द्रमा लगानी बढेसँगै नेपालको इन्टरनेट सेवा अझ गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ।
