राष्ट्रिय वाणिज्य बैँक लि. द्धारा स्मार्ट मनी टक्स कार्यक्रम सम्पन्न
काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ग्लोवल मनीवीकका अवसरमा स्मार्ट मनी टक्स कार्यक्रम सम्पन्न गरेको छ ।
रत्न राज्यलक्ष्मी माध्यामीक विद्यालय नयाँ बानेश्वर काठमाण्डौमा भएको कार्यक्रममा बोल्नुहुँदै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता स्कुल तहदेखीनै आवश्यक रहेको बताउनुभयो ।
उहाँले पैसा व्यवस्थापन र व्यवस्थित प्रयोगका लागि सचेतना अभिवृद्धि गर्न सके प्रत्येक व्यक्तिले आफुसंग उपलब्ध पैसालाई सदुपयोग गरी त्यसबाट धेरैभन्दा धेरै लाभ लिनसक्ने बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत खनालले वित्तीय क्षेत्रका विषयमा युवा तथा विद्यार्थीहरुले बढिभन्दा बढि जानकारी राख्नुपर्ने भन्दै यसविषयलाई राष्ट्रिय वाणिज्य बैँकले निरन्तर उठान गर्दै आएको स्पष्ट पार्नुभयो ।
खनालले बढ्दो सूचना प्रविधिको प्रयोगसंगै यसले वित्तीय क्षेत्रमा चुनौतीपनि थपेको भन्दै यसतर्फ देशव्यापी सचेतनाका कार्यक्रमहरु अगाडी बढाउनुपर्ने तर्क गर्नुभयो ।
उहाँले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन वा एसएमएस लगायतका सामाजिक सञ्जालमा आएका लिंकहरु नखोल्न र सित्तैमा कसैले पैसा दिन्छु भन्नेकुरामा विश्वास नगर्न सबैमा अनुरोध गर्नुभयो ।
यसैगरी कतिपयले सुरुमा केही रकम वा सामान दिएर त्यो भन्दा धेरै रकम माग गर्ने अभ्यासपनि देखीएको भन्दै यस्ता प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो ।
सहभागी विद्यार्थी तथा शिक्षकहरुले सोधेका प्रश्नको जवाफ दिनुहँदै प्रमुख कार्यकारी अधिकृत खनालले वित्तीय साक्षरताको सुरुवात विद्यालयस्तरबाट घरघरमा पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा स्कुलका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैँकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल र राम बहादुर थापा सहित विभागिय प्रमुखहरु आनन्द सुवेदी, सचिन श्रेष्ठ र विभागीय उपप्रमुख उभार पाण्डे सहभागी हुनुभएको थियो ।
राष्ट्रिय वाणिज्य बैँकले ग्लोवल मनीवीकका अवसरमा देशव्यापी वित्तीय सक्षरता सहितका सामाजिक समुदायिक कार्यक्रम गर्दै आएको छ ।


