गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रदीप पौडेलको माग

 गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रदीप पौडेलको माग
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै महामन्त्री पौडेलले भदौ २३ र २४ गतेको घटनाबारे आयोगले प्रतिवेदन बुझाएको लामो समय भइसक्दा पनि सरकारले त्यसलाई गुपचुप राखेकोमा आपत्ति जनाएका छन्। सरकारको यस्तो कार्यले जनतामा अनेकौँ आशंका र उपशंका जन्माएको उनको तर्क छ। अन्तरिम सरकारको कार्यकाल सकिन लाग्दा समेत प्रतिवेदन सार्वजनिक नहुनुलाई उनले ‘कर्तव्यबाट विमुख’ भएको संज्ञा दिएका छन्। “आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो,” पौडेलले भनेका छन्, “यसलाई यसअघिका आयोगका प्रतिवेदनहरूजस्तै गुपचुप राखिनु विडम्बनापूर्ण छ।” महामन्त्री पौडेलले प्रश्न गरेका छन्— “कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो? यो किन सार्वजनिक गरिँदैन? यसले गम्भीर यक्ष प्रश्न खडा गरेको छ।” हिजो मात्र सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आधिकारिक माग गर्ने निर्णय गरेको थियो। महामन्त्री पौडेलले सोही निर्णयलाई स्मरण गराउँदै सरकारलाई आफ्नो अन्तिम समयमा भए पनि जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्। उनले वक्तव्यको अन्त्यमा भनेका छन्, “म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु।”

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *