बोयर बाख्रा पालनमा किसानको आकर्षण, एउटै बोकाको मूल्य लाखौँ

 बोयर बाख्रा पालनमा किसानको आकर्षण, एउटै बोकाको मूल्य लाखौँ

AppleMark

काठमाडौं । पछिल्लो समय बाख्रा पालन व्यवसायमा नयाँ सम्भावना बोकेको “ब्रोयर” जातको बाख्रा किसानमाझ आकर्षणको केन्द्र बन्दै गएको छ । उच्च उत्पादन क्षमता, द्रुत वृद्धि दर र गुणस्तरीय मासुका कारण यो जात नेपालसहित विश्वभर चर्चित बन्दै गएको हो । दक्षिणी अफ्रिकामा विकास गरिएको यो बाख्रा उच्चस्तरीय छनोट प्रक्रिया, प्रजनन र जेनेटिक्स प्रविधिको प्रयोगबाट उत्पादन गरिएको मानिन्छ । सन् १९०० को प्रारम्भिक समयमा स्थानीय जातलाई युरोपियन तथा भारतीय जातसँग क्रस गरेर विकास गरिएको अनुमान गरिएको छ । विशेषगरी यसको शरीर ठूलो, आकर्षक र बलियो हुने गर्दछ । सेतो शरीरमा रातो टाउको, कान र घाँटी यसको प्रमुख पहिचान हो । अन्य बाख्राभन्दा फरक देखिने यो जातले विभिन्न हावापानी र भूगोलमा सजिलै अनुकूलन गर्न सक्ने क्षमता राख्छ । मासुको गुणस्तरका हिसाबले पनि ब्रोयर अगाडि छ । यसको मासु नरम, स्वादिलो र कम बोसोयुक्त हुने भएकाले स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ । तौल र वृद्धि दर यस जातको सबैभन्दा ठूलो विशेषता हो । वयस्क भालेको तौल ९० देखि १०० किलोसम्म पुग्ने तथा पोथीको ७५–८० किलोसम्म हुने गर्दछ । जन्मपछि १०० दिनमै पाठा–पाठीको तौल उल्लेखनीय रूपमा बढ्ने गरेको अध्ययनले देखाएको छ । प्रजनन क्षमताका हिसाबले पनि यो जात उत्कृष्ट मानिन्छ । अधिकांशले जुम्ल्याहा बच्चा जन्माउने, कतिपयले तिम्ल्याहा वा चार वटासम्म बच्चा दिन सक्ने क्षमता राख्छन् । नेपालमा यो बाख्रा पहिलो पटक वि.सं. २०६५ मा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रमा भित्र्याएर अध्ययन सुरु गरिएको थियो । हाल यसको विस्तार क्रमशः बढ्दै गएको छ । यद्यपि, शुद्ध जातको अभाव, उचित आहारा व्यवस्थापन र स्वास्थ्य संवेदनशीलता किसानका लागि चुनौतीका रूपमा देखिएको छ । विज्ञहरूले सन्तुलित दाना, नियमित खोप र रोग नियन्त्रणमा विशेष ध्यान दिन सुझाव दिएका छन् । समग्रमा, उचित व्यवस्थापन र प्रविधिको प्रयोग गर्न सके ब्रोयर जातको बाख्रा नेपालमा व्यावसायिक बाख्रा पालनको भविष्य उज्यालो बनाउने सम्भावना बोकेको देखिन्छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *