गर्मी बढ्दै जाँदा स्वास्थ्य सतर्कता आवश्यक, चिसो र पानीयुक्त खानामा जोड
काठमाडौं । देशभर तापक्रम बढ्दै जाँदा स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सक तथा पोषणविद्हरूले आग्रह गरेका छन्। गर्मी मौसमको सुरुवातसँगै शरीरलाई चिसो र सन्तुलित राख्ने खानपानमा ध्यान नदिँदा डिहाइड्रेसनलगायत विभिन्न स्वास्थ्य समस्या बढ्न सक्ने चेतावनी दिइएको छ।
पोषणविद् अरुणा उप्रेती का अनुसार गर्मीमा पानीयुक्त, हल्का र सजिलै पच्ने खाना सेवन गर्नु अत्यन्त आवश्यक हुन्छ। यस्तो खानाले शरीरको तापक्रम नियन्त्रण गर्नुका साथै जलवियोजनबाट जोगाउन मद्दत गर्छ।
उनका अनुसार खरबुजा, मेवा, आँप र स्ट्रबेरीजस्ता पानीको मात्रा धेरै भएका फलफूलले शरीरलाई हाइड्रेटेड राख्न सहयोग पुर्याउँछन्। त्यसैगरी काँक्रो, गाँजर, गोलभेडा र पालुङ्गोजस्ता मौसमी तरकारीको नियमित सेवन लाभदायक मानिन्छ।
तरल पदार्थतर्फ दही, मही, लस्सी, नरिवलको पानी र सतुको सर्वतले शरीरलाई भित्रैदेखि शीतल बनाउन मद्दत गर्ने विज्ञहरूको भनाइ छ। साथै ओट्स, सातु जस्ता हल्का तथा घरमै बनाइने खानेकुरा गर्मीमा उपयुक्त हुने बताइएको छ।
यता, धेरै मसलेदार, चिल्लो तथा तारेका खानेकुरा भने गर्मीमा हानिकारक हुने चिकित्सकहरू बताउँछन्। यस्ता खानेकुराले शरीरको तापक्रम बढाउने र पाचन प्रणालीमा असर गर्ने जोखिम हुन्छ।
त्यसैगरी अत्यधिक चिनी भएका बोतलका पेय पदार्थ, जंक फूड तथा बाहिर खुला रूपमा राखिएका खानेकुरा सेवन गर्दा संक्रमणको खतरा बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
विशेषज्ञहरूका अनुसार सन्तुलित आहार, पर्याप्त पानी सेवन र सफा खानेकुराको प्रयोगले गर्मी मौसममा स्वस्थ रहन महत्वपूर्ण भूमिका खेल्नेछ।
