ट्रम्प प्रशासनविरुद्ध अमेरिकाका विभिन्न शहरमा विशाल प्रदर्शन

 ट्रम्प प्रशासनविरुद्ध अमेरिकाका विभिन्न शहरमा विशाल प्रदर्शन

काठमाडौं । अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासनको विरुद्धमा विशाल विरोध प्रदर्शन भइरहेका छन्। यो ‘नो किंग्स’ र्‍यालीको तेस्रो संस्करण हो, जसमा यसअघि लाखौँको संख्यामा मानिसहरू सडकमा उत्रिएका थिए।

आयोजकहरूका अनुसार उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लादिएका नीतिहरू-जसमा इरानसँगको युद्ध, संघीय आप्रवासन प्रवर्तन र बढ्दो महँगी समावेश छन्-त्यसको विरोध गरिरहेका छन्। आयोजकहरूले भनेका छन्, “ट्रम्प हामीमाथि तानाशाहझैं शासन गर्न चाहन्छन्। तर यो अमेरिका हो र शक्ति जनतामा निहित छ – न कि राजा बन्न खोज्नेहरू वा उनीहरूका अर्बपति साथीहरूमा।”

ह्वाइट हाउसका प्रवक्ताले यी प्रदर्शनहरूलाई “ट्रम्प डिरेन्जमेन्ट थेरापी सेसन” को संज्ञा दिँदै यसको वास्ता गर्नेहरू भनेका “पैसा लिएर समाचार लेख्ने पत्रकारहरू मात्र हुन्” भनेका छन्।

शनिबार दिनभर न्युयोर्क, वासिङ्टन डीसी र लस एन्जलस लगायत अमेरिकाका लगभग हरेक प्रमुख शहरहरूमा प्रदर्शनहरू भए। वासिङ्टन डीसीको मुख्य सडकहरूमा मानिसहरूको ठूलो भिडले मार्च पास गरेको थियो। प्रदर्शनकारीहरूले लिङ्कन मेमोरियलका खुड्किलाहरू र नेशनल मल खचाखच भरेका थिए।

अघिल्ला प्रदर्शनहरूमा जस्तै यसपटक पनि प्रदर्शनकारीहरूले ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र प्रशासनका अन्य अधिकारीहरूको पुत्ला बोकेर उनीहरूलाई पदच्युत गर्न र पक्राउ गर्न माग गरेका थिए।

शनिबारको एउटा मुख्य प्रदर्शन मिनेसोटामा भएको थियो जहाँ गत जनवरीमा संघीय आप्रवासन एजेन्टहरूद्वारा रेनी निकोल गुड र एलेक्स प्रेटी नामका दुई अमेरिकी नागरिक मारिएका थिए। उनीहरूको मृत्युले ट्रम्प प्रशासनको आप्रवासन रणनीतिको विरुद्धमा देशभर आक्रोश र विरोध निम्त्याएको थियो।

सेन्ट पलस्थित स्टेट क्यापिटल भवन बाहिर ब्रुस स्प्रिंगस्टीनले आफ्नो आप्रवासन विरोधी प्रवर्तन गीत “स्ट्रिट्स अफ मिनियापोलिस” गाएका थिए।

न्युयोर्कको टाइम्स स्क्वायरमा पनि हजारौँको संख्यामा मानिसहरू भेला भएका थिए। अक्टोबरमा न्युयोर्क प्रहरीले शहरका पाँचवटै बरोहरूमा गरी १ लाखभन्दा बढी मानिस जम्मा भएको बताएको थियो।

प्रदर्शनका क्रममा केही स्थानमा हिंसात्मक घटनाहरू पनि भएका छन्। लस एन्जलसमा संघीय कानुन प्रवर्तन अधिकारीहरूलाई कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार प्रदर्शनकारीहरूले रोयबल फेडरल बिल्डिङ घेराउ गरी एजेन्टहरूमाथि सिमेन्टका ब्लकहरू प्रहार गरेका थिए, जसमा दुई अधिकारी घाइते भएका छन्।

त्यस्तै, डलास र लस एन्जलसका अन्य स्थानहरूमा पनि प्रहरीले तितरबितर हुने आदेश नमानेको भन्दै धेरैलाई पक्राउ गरेको छ। रोयटर्सका अनुसार डलासमा काउन्टर-प्रोटेस्टरहरू (विपक्षी प्रदर्शनकारी) ले र्‍यालीमा अवरोध पुर्‍याएपछि सामान्य झडप भएको थियो।

अक्टोबरमा भएको पछिल्लो ‘नो किंग्स’ र्‍यालीमा देशभरबाट झन्डै ७० लाख मानिस सहभागी भएका थिए। सन् २०२५ जनवरीमा ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले राष्ट्रपतीय शक्तिको दायरा विस्तार गरेका छन्। उनले कार्यकारी आदेशमार्फत संघीय सरकारका केही भागहरू विघटन गर्ने र गभर्नरहरूको असहमति हुँदाहुँदै पनि शहरहरूमा नेशनल गार्ड परिचालन गर्ने जस्ता कदम चालेका छन्।

आलोचकहरूले यी कदमहरू असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि खतरा भएको चेतावनी दिएका छन्। तर राष्ट्रपति ट्रम्पले भने संकटमा परेको देशलाई पुनरुत्थान गर्न यी कार्यहरू आवश्यक रहेको बताउँदै आफूलाई राजा वा तानाशाह भनिनुलाई ‘हास्यास्पद’ बताएका छन्। उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका थिए, “उनीहरू मलाई राजा भनिरहेका छन्। म राजा होइन।”

अहिले साना ठूला सबै शहरहरूमा प्रदर्शन जारी छ। न्यासभिल, ह्युस्टन र बोस्टन जस्ता शहरहरूमा र्‍यालीहरू भर्खरै सुरु हुँदैछन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *