पूर्वप्रधानमन्त्री सहितका उच्च पदस्थको सम्पत्तिमाथि छानबिन सुरु
काठमाडौँ । सरकारले उच्च तहका राजनीतिक व्यक्तित्वहरूको सम्पत्तिमाथि छानबिन प्रक्रिया अघि बढाएको छ। सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागको पत्राचारपछि केन्द्रीय अनुसन्धान व्युरोले पूर्वप्रधानमन्त्रीहरू शेर बहादुर देउवा, र केपी शर्मा ओली र पुष्प कमल दाहल प्रचण्डको सम्पत्तिको विस्तृत अध्ययन थालेको हो।
अनुसन्धानको दायरा विस्तार गर्दै प्रहरीले पूर्वमन्त्री दिपक खडकालाई नियन्त्रणमा लिएर थप सोधपुछ अघि बढाएको छ। विभागको निर्देशनमा गरिएको यो कारबाहीलाई व्यापक छानबिनको प्रारम्भिक चरणको रूपमा हेरिएको छ।
स्रोतका अनुसार अनुसन्धान टोलीले सम्बन्धित व्यक्तिहरूको चल–अचल सम्पत्ति, आम्दानीको स्रोत र आर्थिक कारोबारका विवरणहरू सूक्ष्म रूपमा परीक्षण गरिरहेको छ। विगतमा भएका केही घटनामा भेटिएका नगद र अन्य सामग्रीलाई समेत प्रमाणका रूपमा पुनः विश्लेषण गरिँदैछ।
यसै क्रममा बुढनिलकण्ठ स्थित निवासमा भइरहेको संरचना भत्काउने काम रोकिएको छ। सम्भावित प्रमाण नष्ट हुन नदिन प्रशासनले हस्तक्षेप गर्दै उक्त क्षेत्रलाई अनुसन्धानको दायरामा राखेको हो।
सरकारले दीर्घकालीन रूपमा उच्च पदमा रहेका व्यक्तिहरूको सम्पत्ति पारदर्शिता सुनिश्चित गर्न चरणबद्ध रूपमा छानबिन अघि बढाउने संकेत दिएको छ। यस अभियानअन्तर्गत राजनीतिक नेतृत्व मात्र होइन, उनीहरूसँग सम्बन्धित व्यक्ति र आर्थिक सञ्जालसमेत अनुसन्धानको दायरामा पर्ने देखिएको छ ।
