सम्पत्ति शुद्धीकरणमा दीपक भट्ट पक्राउ, ६ अर्ब कारोबार छानबिनमा

 सम्पत्ति शुद्धीकरणमा दीपक भट्ट पक्राउ, ६ अर्ब कारोबार छानबिनमा

काठमाडौं– सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौँबाट नियन्त्रणमा लिएको एआईजी मनोज केसीले जानकारी दिएका छन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले उनलाई कालोसूचीमा राख्दै पासपोर्ट रोक्का गर्न सिफारिस गरेको थियो। सोही आधारमा उनीमाथि निगरानी बढाइँदै आएको थियो।

प्रहरीका अनुसार भट्टमाथि विभिन्न कम्पनी र कारोबारसँग सम्बन्धित शंकास्पद वित्तीय गतिविधिमा संलग्न भएको आरोप छ। पछिल्लो अनुसन्धानले करिब ६ अर्ब रुपैयाँ बराबरको कारोबारसँग उनको सम्बन्ध देखिएको बताइएको छ।

ती कारोबारमध्ये हिमालयन रिइन्सुरेन्स, नेपाल रिइन्सुरेन्सको हकप्रद सेयर तथा हिल्टन होटलसँग जोडिएका गतिविधिहरू प्रमुख रहेको स्रोतले जनाएको छ। यसबाहेक अन्य ठेक्का र सेयर बजारसँग सम्बन्धित कारोबार पनि अनुसन्धानको दायरामा रहेका छन्।

भट्टसँग जोडिएका करिब दुई दर्जनभन्दा बढी व्यक्तिहरूको बयानसमेत लिइएको छ। यसअघि २०७८ सालमै शंकास्पद कारोबार देखिए पनि त्यसबेला गम्भीर अनुसन्धान हुन सकेको थिएन।

हालको अनुसन्धानमा सम्बन्धित निकायहरूले समन्वय गर्दै फाइल पुनः खोलिएको हो। सम्पत्ति शुद्धीकरण विभागले आन्तरिक राजस्व विभाग तथा अन्य निकायसँग समन्वय गर्दै विस्तृत छानबिन अघि बढाएको छ।

प्रहरी र सम्बन्धित निकायले केही साताभित्र अनुसन्धान पूरा गरी अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको जनाइएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *