ठाकुरको पक्षमा रास्वपा, चुनाव औपचारिकतामा सीमित
काठमाडौं । उपसभामुख निर्वाचनअघि राजनीतिक समीकरण एकाएक स्पष्ट भएको छ। सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठकले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने औपचारिक निर्णय गरेसँगै प्रतिस्पर्धा लगभग एकतर्फी बन्न पुगेको हो।
प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको बैठकले पार्टीका सांसदहरूलाई ठाकुरकै पक्षमा मतदान गर्न निर्देशन दिएको छ। पार्टीभित्र कुनै मतभेद नदेखिएको यो निर्णयले चुनावी नतिजा मतदानअघि नै तयजस्तै बनाएको छ।
संसद्मा निर्णायक शक्ति बोकेको रास्वपाको साथ पाएपछि ठाकुरको जित सुनिश्चितजस्तै देखिएको छ। यससँगै राप्रपाकी उम्मेदवार सरस्वती लामाको सम्भावना कमजोर बन्दै गएको छ, जसले विपक्षी खेमालाई रक्षात्मक अवस्थामा धकेलेको छ।
धनुषाबाट निर्वाचित २५ वर्षीया ठाकुरका लागि यो समर्थन केवल राजनीतिक मात्र नभई ऐतिहासिक अवसर पनि हो। उनी निर्वाचित भएमा देशले सबैभन्दा कम उमेरको उपसभामुख पाउनेछ, जसलाई नयाँ पुस्ताको उदयका रूपमा हेरिएको छ।
रास्वपाले लिएको यो निर्णयले परम्परागत शक्ति सन्तुलनभन्दा बाहिर गएर नयाँ राजनीतिक सन्देश दिन खोजेको देखिन्छ। ‘युवा र परिणाममुखी नेतृत्व’ को नारालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा यसलाई विश्लेषण गरिएको छ।
अब केही घण्टापछि हुने मतदान प्रक्रिया केवल औपचारिकता बन्ने आकलन गरिएको छ।
