अब कारोबार मूल्यमा भन्सार लाग्छ : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अब भन्सार मूल्याङ्कनका लागि ‘सन्दर्भ मूल्य’ को व्यवस्था हटाएर वास्तविक ‘कारोबार मूल्य’ लाई आधार बनाउने बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा भन्सार विधेयकमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन ।
अर्थमन्त्री पौडेलले कारोबार मूल्यको आधारमा भन्सार शुल्क लिइने बताए । अर्थमन्त्री पौडेलले भने, ‘ हामी अब कारोबार मूल्यमा भन्सार लिन्छौँ। सन्दर्भ मूल्यको व्यवस्थाबाट बाहिर निस्किन्छौँ ।
कम मूल्यको बीजक बनाएर हुने राजस्व छली ९अन्डर इन्भोइसिङ० जस्ता समस्या समाधान गर्न यो नीतिगत परिवर्तन आवश्यक छ। अर्थमन्त्री पौडेलले भन्सार प्रणालीलाई आधुनिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन विधेयक ल्याइएको स्पष्ट पारे । उनले प्रविधिको अधिकतम प्रयोगमार्फत भन्सार छली र चुहावट नियन्त्रणमा सरकारले कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री पौडेलले नेपाल ‘क्योटो महासन्धि’को पक्ष राष्ट्र भएकाले त्यसका प्रावधानहरू कार्यान्वयन गर्न पनि नयाँ कानुन अनिवार्य भएको बताए । उनले भने, विद्यमान ऐनलाई पटक–पटक संशोधन गर्नुभन्दा एकीकृत र सुदृढ कानुन बनाउनु आवश्यक देखियो।
