सैनिक कोष भ्रष्टाचार प्रकरण : सहायक रथी र मेजर सेवाबाट निष्कासित

काठमाडौँ — सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो। साथै, हिनामिना भएको रु २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा उनीहरूबाट असुल उपर गर्ने निर्णय पनि अदालतले गरेको छ।
उनीहरूलाई सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा दोषी ठहर गर्दै सैनिक ऐन २०६३ को दफा १०१ अनुसार कारबाही गरिएको हो।
यो प्रकरणमा सेनाबाट अवकाश लिएका आत्मराम थापा र लक्ष्मण अधिकारी पनि दोषी ठहर भएका छन्। थापा पुर्पक्षका लागि थुनामा छन् भने अधिकारी अमेरिका बसेका छन्।
अदालतको ठहरअनुसार, आवास तथा बिमा शाखाबाट वास्तविक लाभग्राहीको नाममा नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गरी हिनामिना गरिएको प्रमाणित भएको छ।