रसुवागढीमा भीषण बाढी: अन्तर्राष्ट्रिय व्यापारिक पुल बगायो, १८ जना बेपत्ता, ९ जनाको उद्धार
चीनसँगको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने पक्की पुल गएराति सवा ३ बजे आएको भोटेकोशी नदीको भीषण बाढीले बगाएको छ। बाढीका कारण रसुवागढी भन्सार यार्डमा पार्किङ गरिएका कन्टेनर, सडक, सुख्खा बन्दरगाह र सवारीसाधन पनि बगेका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ, तर क्षतिको पूर्ण विवरण आइनसकेको छैन। बाढी राति आएकोले मानवीय क्षति पनि भएको हुन सक्ने भन्दै उद्धार र खोजी कार्य तीव्र पारिएको जनाइएको छ।
बाढीले भन्सार क्षेत्रमा रहेका गाडी र कन्टेनर बगाएको र तीमध्ये केही गाडीमा मान्छे पनि रहेको हुन सक्ने आशंका गरिएको छ। उद्धारका लागि हेलिकोप्टर परिचालनको प्रयास भइरहेको छ, तर मौसम प्रतिकूल भएकाले कठिनाइ भएको पौडेलले बताए।
१८ जना बेपत्ता, ९ जना उद्धार
चीनतर्फ भारी वर्षाका कारण भोटेकोशी खोलामा आएको बाढीले रसुवागढी क्षेत्रमा १८ जना बेपत्ता भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरी, ३ जना सवारी चालक, ६ जना नेपाली कामदार र ४ जना चिनियाँ कामदार रहेका छन्।
यसैबीच, रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुशल उद्धार गरिएको अधिकारीले जानकारी दिए।
त्रिशुलीमा पनि उद्धार
यसैबीच, नुवाकोटको त्रिशुली नदीमा फसेका दुई जना वृद्ध दम्पतीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ। विदुर नगरपालिका–१ लभडाँडा मिलनचौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ दाउरा संकलनका लागि नदी किनार पुग्दा अचानक बाढीले सतह बढ्दा बीचमा फसेका थिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरूले केही समय रुख चढेर ज्यान जोगाएका थिए। त्यसपछि दुई वटा सेनाको हेलिकोप्टर प्रयोग गरेर उद्धार गरिएको हो।
चीनतर्फको अविरल वर्षाका कारण आएको बाढीले नेपाल–चीन मैत्रीपूर्ण सम्बन्धको प्रतीक मानिने मितेरी पुललाई समेत क्षति पुर्याएको छ
