राजनीतिमा विद्या तरंग पूर्वराष्ट्रपति भण्डारीको सक्रियता : एमालेभित्र नेतृत्व संघर्ष तीव्र

 राजनीतिमा विद्या तरंग पूर्वराष्ट्रपति भण्डारीको सक्रियता : एमालेभित्र नेतृत्व संघर्ष तीव्र

काठमाडौं–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमाले राजनीतिमा सक्रिय हुने घोषणासँगै समग्र राजनीतिक वृत्त तरंगित भएको छ। उनले यही असार १४ गते सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन्। उनको यो घोषणापछि एमाले मात्र होइन, कांग्रेसलगायत पार्टीहरू पनि झस्किएका छन्।

एमालेमा त भण्डारीको सक्रियता रोक्न एउटा समूह लागिपरेको छ। एमाले संस्थापन पक्षका कतिपय नेताको अभिव्यक्ति र निर्देशनले भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिन एउटा समूह लागेको स्पष्ट हुन्छ। अर्कातर्फ एमालेको भदौमा हुने विधान महाधिवेशनबाटै भण्डारीलाई सक्रिय बनाउन अर्को समूह लागिरहेको छ।

एमाले संस्थापन पक्षका कतिपय नेताले आगामी नेतृत्वमा भण्डारी आउन सक्ने आकलन गरेर जनसंगठनहरूलाई पार्टीको निर्णय वा पार्टीको घोषित नीतिविपरीतका कित्ताकाट वा गतिविधि क्षम्य नहुने चेतावनी दिँदै आएका छन्। भण्डारीको सक्रिय राजनीतिमा आउने घोषणापछि एमाले महासचिव शंकर पोखरेलले १८ गतेदेखि बिहीबारसम्म भएका विभिन्न तहका बैठक र भेलामा पार्टीको घोषित नीतिविपरीत नजान नेता–कार्यकर्तालाई निर्देशन दिइरहेका छन्। पोखरेलले १८ र १९ गते प्रदेश कमिटी र जिल्ला नेतृत्वको बैठकमार्फत पार्टीमा गुट सिर्जना गर्ने प्रयास भइरहेको भन्दै नेतृत्वसम्बन्धी बहसमाथि रोक लगाउन निर्देशन दिएका थिए।

अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा कतिपय नेता भण्डारीलाई नेतृत्वमा ल्याउन अग्रसर भएको विषयमा केन्द्रित भएर महासचिव पोखरेलले यस्तो निर्देशन दिएका थिए। उनले पदाधिकारीदेखि केन्द्रीय नेता, प्रदेश, जिल्ला र जनसंगठनका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूप्रति लक्षित गर्दै नेतृत्वको बहसमा रोक लगाउने आशयका अभिव्यक्ति दिइरहेका छन्।

प्रायः प्रदेश इन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र जिल्ला कमिटीका अध्यक्षहरूसँगको बैठकलाई पार्टी केन्द्रीय कार्यालय च्यासलबाट भर्चुअल सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति नै तय नभएको अवस्थामा नेतृत्वको बहसको सट्टा विधि र विधानबारे बहस गर्न निर्देशन दिएका थिए। ‘राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतः रोक्नुपर्छ,’ महासचिव पोखरेलले भनेका थिए।

उनले यसो भनिरहँदा एमालेमा आगामी नेतृत्व भण्डारीले गर्ने चर्चा चलिरहेको छ। एमालेले भदौ २०–२२ गतेसम्म दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय लिइसकेको छ। त्यसलगत्तै राष्ट्रिय महाधिवेशन गर्ने गरी तयारी भइरहेको छ।

कतिपय सन्दर्भमा पार्टी संस्थापनबाट हेपाइमा परेका नेता–कार्यकर्ताले भण्डारीलाई अघि सारेर ‘राजनीतिक आश्रयस्थल’ बनाउन चाहेका छन्। संस्थापन पक्षले पार्टीको आन्तरिक लोकतन्त्रमा रोक लगाएपछि हेपाइमा परेका नेता–कार्यकर्ता आन्तरिक लोकतन्त्रका लागि भण्डारीलाई नेतृत्वमा स्थापित गर्न चाहन्छन्। भण्डारीले पनि पार्टीभित्रको अवस्थालाई ध्यान दिएर आफू सक्रिय हुन लागेको भनेर निकट नेताहरूसँग बताउन थालेकी छन्। भण्डारी निवास भंगालमा असार १४ पछि राजनीतिक चहलपहल बढ्दै जान थालेको छ। पहिले एमालेका खासखास नेता–कार्यकर्ताको मात्रै आउजाउ हुने भण्डारी निवासका अहिले अन्य राजनीतिक दलका नेता, जनप्रतिनिधि, समर्थक–शुभचिन्तक र स्वतन्त्र व्यक्तिहरू पनि भेटघाटका लागि पुग्न थालेका छन्।

यस अवधिमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसम्मले भण्डारीसँग भेटघाट गरिसकेका छन्।

भण्डारीको राजनीतिक भेटघाटले तीव्रता पाएपछि एमाले महासचिव पोखरेलेको निर्देशनमा पार्टीका विभिन्न तहका भेला र बैठक पनि बस्न थालेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको जनसंगठनहरूको बैठकमा पोखरेलले पार्टीमा कित्ताकाट नचल्ने बताए। ‘कुनै बेला सरकारमा लगिदिनुपर्‍यो भनेर रातदिन बालकोट (अध्यक्ष ओली निवास) धाउनेहरू नै अहिले लोकप्रियताका नाममा नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा छन्।

पश्चगामी सोच भएका राजावादी र कम्युनिस्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन्। भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन। त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन। जतिबेला जे काम पर्छ, त्यही गर्नुहोस्। नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस्,’ पोखरेलले बैठकमा भनेका थिए। बैठकमा पार्टी जनसंगठन विभागका प्रमुख भानुभक्त ढकालले पनि नेतृत्वको विरोधमा नलाग्न चेतावनी दिएका थिए।

पार्टी कार्यालय च्यासलमा महासचिव पोखरेलले भण्डारीलक्षित अभिव्यक्ति दिइरहँदा भंगालमा भण्डारीले राजनीतिमा पुनरागमनको आफ्नो निर्णयलाई समाजको तल्लो तप्का र आममान्छेले कसरी लिइरहेका छन् भन्ने बुझ्न स्वतन्त्र व्यक्तिहरूसँग भेटघाट गरिरहेकी थिइन्। उनले मंगलबार र बुधबार पनि यसै विषयमा केही स्वतन्त्र वाम बुद्धिजीवीसँग परामर्श गरेकी थिइन।

भेटघाटमा स्वतन्त्र वाम बुद्धिजीवीहरूले अध्यक्ष ओलीका कारण पार्टी अलोकप्रिय बन्दै गएको धारणा राखेका थिए। उनीहरूले ओलीसँगको सहमतिमैै राजनीतिमा आउन लाग्नुभएको हो भनेर भण्डारीलाई प्रश्नसमेत गरेका थिए। भण्डारीले आफूले विधान महाधिवेशन कुरिरहेको बताएकी थिइन्। ‘विधानमा भएका प्रावधानहरू अहिले निलम्बन गरिएको छ। यसलाई खुला बहसका रूपमा अगाडि बढाउनुपर्ने भएकाले पार्टीका नेताहरूसँग छलफलमै छु’, भण्डारीलाई उद्धृत गर्दै भेटमा सहभागी स्वतन्त्र एक वामबुद्धिजीवीले भने।

एमाले सचिवालय बैठकले विधान महाधिवेशनका लागि आन्तरिक तयारी गर्नुका साथै दस्ताबेज लेखनका लागि कार्यविभाजन गरिसकेको छ। अघिल्लो विधान महाधिवेशनबाट पारित पार्टीका कुनै पनि तहमा नेतृत्वका लागि ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधानलाई निरन्तरता दिने कि हटाउने कुराको निर्क्याेल भदौमा हुने विधान महाधिवेशनले गर्नेछ। यो व्यवस्था कायम रहे तेहेरिएर अध्यक्ष बन्ने तयारीमा लागेका ओलीको बाटो विधानतः बन्द हुनेछ। दुवै प्रावधान हटाइए ओलीलाई फेरि अध्यक्ष हुन बाधा पर्नेछैन।

भावी नेतृत्व चयनसँग प्रत्यक्ष सम्बन्धित विधानको यो प्रावधानलाई आफूअनुकूल व्याख्या गर्न दुवैतर्फका नेता–कार्यकर्ता कस्सिएर लागेकाले पनि एमालेको आन्तरिक जीवनमा यो विधान महाधिवेशनलाई महत्त्वका साथ हेरिएको छ। महासचिव पोखरेल, उपमहासचिव प्रदिप ज्ञवालीलगायत ओली पक्षका नेता निलम्बनमा भनिएका विधानका यी दुवै प्रावधान हटिसकेको दाबी गरेपछि भण्डारी निकट नेताहरूले भने षड्यन्त्रपूर्ण ढंगले विधानमा भएको व्यवस्था हटाउन नपाइने भन्दै आएका छन्।

साभार नागरिक

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *