कृषि विकास बैंकद्वारा “समष्टि” को ११९औं अङ्क सार्वजनिक, भानुभक्तप्रति श्रद्धाञ्जलि

काठमाडौं, असार २९ –
कृषि विकास बैंक लिमिटेडले आफ्नो दीर्घकालीन साहित्यिक पहल अन्तर्गत प्रकाशित गर्दै आएको पत्रिका “समष्टि” को ११९औं अङ्क एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पत्रिकाको विमोचन गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि गुरुङले भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै भन्नुभयो, “भानु जयन्ती नेपाली साहित्य, संस्कार र भाषाको गौरव हो। कृषि विकास बैंकले ‘समष्टि’ जस्तो साहित्यिक प्रयासमार्फत भाषा–साहित्यको संरक्षणमा खेलेको भूमिका उल्लेखनीय छ।”
उहाँले भन्नुभयो“मैले बाल्यकालमा पढेको भानुभक्तीय रामायण आज पनि मेरो स्मृतिमा छ — त्यो भावनात्मक सम्बन्ध अझ प्रगाढ भएको छ।”
समष्टि प्रकाशन समितिका अध्यक्ष तथा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले पत्रिकाको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै समष्टिले लामो समयदेखि साहित्यिक सिर्जनाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने प्रयास गरिरहेको बताउनुभयो। “यस अंकमा प्रकाशित सर्जकहरूको योगदानले समष्टिलाई अझ गहकिलो बनाएको छ,” उहाँले भन्नुभयो।
कार्यक्रमको सञ्चालन पत्रिकाका सम्पादक तथा शाखा प्रमुख शान्तिराम भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा बैंकका अन्य उपमहाप्रबन्धकहरू, विभागीय प्रमुखहरू र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा वक्ताहरूले साहित्य, संस्कृति र बैंकिङ्ग क्षेत्रबीचको सहकार्य र समन्वयलाई सुदृढ बनाउँदै बैंकलाई जनताको साझा संस्थाका रूपमा विकास गर्न ‘समष्टि’ले खेलेको भूमिकालाई उच्च मूल्यांकन गरेका थिए।