घुस डिल प्रकरणमा मन्त्री गुप्ताको राजीनामा, अनुसन्धानलाई सहज बनाउने उद्देश्य
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो नाम घुस डिल प्रकरणमा जोडिएपछि मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन्। गुप्ताले राजीनामापछि सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफूमाथि लागेको आरोपको खण्डन गर्दै सत्यतथ्य पत्ता लगाउन अनुसन्धानलाई सहज बनाउन राजीनामा दिएको बताएका छन्।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका गुप्तामाथि भूमि आयोगका जिल्ला अध्यक्षको नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्ने प्रयोजनका लागि घुस डिल गरेको आरोप लागेको थियो। पछिल्ला केही दिनयता उनको नाम विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत निरन्तर घुस डिलको प्रसंगमा जोडिँदै आएको थियो।
गुप्ताले स्टाटसमा लेखेका छन्,
“कहिले कहीँ नगाएको बिष पनि लाग्ने रहेछ, म अहिले त्यसैको शिकार भए। अब लागेको आरोप अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु।”
उनले प्रविधिको उच्चतम प्रयोगको शिकार अब कोही पनि नबुन् भन्ने अपेक्षा व्यक्त गर्दै, “आजसम्म विभिन्न रूपमा आफूप्रति सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,” भनेका छन्।
गुप्ताले पार्टी, देश र जनताप्रति थप जिम्मेवारीका साथ इमान र निष्ठा राखेर अघि बढ्ने प्रतिवद्धता समेत दोहोर्याएका छन्। “अब फेरि एक पटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिवद्धताको साथ जनताको घर देलमा आउने प्रण गर्दछु,” उनले उल्लेख गरेका छन्।
मन्त्री गुप्ताको राजीनामा प्रकरणले सरकारभित्र नयाँ तरंग ल्याएको छ। नेकपा एमाले भित्र यस विषयमा थप छलफल चल्ने अनुमान गरिएको छ। पार्टीका केही नेताहरुले गुप्ताको निर्णयलाई राजनीतिक परिपक्वता भनेका छन् भने केहीले भने यो घटना गम्भीर भएको भन्दै पार्टी र सरकार दुवैलाई सचेत गराएको प्रतिक्रिया दिएका छन्।
यसअघि पनि नेपालमा विभिन्न मन्त्री र उच्च पदस्थ अधिकारीहरु घुस प्रकरणमा मुछिँदा राजीनामा दिने वा बर्खास्त हुने घटना हुँदै आएका छन्। तर गुप्ताको यसपटकको राजीनामाले विशेषगरी प्रविधि र अनुसन्धानसँग सम्बन्धित प्रकरणलाई राजनीतिक रुपमा कसरी लिनु पर्ने भन्ने बहसलाई समेत अगाडि ल्याएको छ।
अहिले राजीनामापछि मन्त्री गुप्ताले निरन्तर आफ्ना समर्थक र पार्टी कार्यकर्तासँग सम्पर्क राखिरहेका छन् भने अनुसन्धान प्रक्रियालाई पूर्णरुपमा सहयोग गर्ने संकेत दिएका छन्। आगामी दिनमा घटनाक्रमले कस्तो मोड लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
Video:
