सञ्चारमन्त्री गुरुङले राष्ट्रियसभामा निजामती विधेयक पेश गर्ने, मन्त्री गुप्ताको राजीनामाले फेरियो कार्यसूची
काठमाडौं, ३१ असार । प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक आज राष्ट्रियसभामा प्रस्तुत हुँदैछ। घुस लेनदेन प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएसँगै उनको स्थानमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेश गर्ने भएका हुन्।
आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा “संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सुरुमा यो प्रस्ताव मन्त्री गुप्ताले नै प्रस्तुत गर्ने तय भए पनि बिहानै उनले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएपछि कार्यसूचीमा हेरफेर गरिएको हो।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिन सांसदहरू आनन्दप्रसाद ढुंगाना, जगप्रसाद शर्मा, जयन्तीदेवी राई, मोहम्मद खालिद, शेखरकुमार सिंह, दुर्गा गुरुङ, राजेन्द्रलक्ष्मी गैरे, राधेश्याम पाश्वान र सोनाम गेल्जेन शेर्पाले नाम दर्ता गराएका छन्। विधेयकमाथि करिब डेढ घण्टा छलफल हुने बताइएको छ।
