बैंकहरूलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय थपियो
काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने समय अवधिमा नेपाल राष्ट्र बैंक लचक भएको छ । केन्द्रीय बैंकले चौथो त्रैमास रिपोर्ट सार्वजनिक गर्नका लागि १५ दिन र अरु त्रैमास रिपोर्टका लागि ८ दिन समय बढाएको हो ।
केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण एक महिना (साउन)भित्र प्रकाशित गरे हुने व्यवस्था गरेको छ । यसअघि १५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।
त्यसैगरी अन्य त्रैमासको हकमा १५ दिनभित्र सार्वजनिक गर्नु पर्नेछ । यसभन्दा अघि ७ दिनको अवधि तोकिएको थियो ।
‘बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ’ निर्देशनमा भनिएको छ ।
