अर्थतन्त्रमा आशा बढाउँदै राजस्व, गतवर्षभन्दा १ खर्ब २० अर्ब रुपैयाँ बढी संकलन

काठमाडौं – नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ मा करिब ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन गरेको छ।
यो रकम आर्थिक वर्ष २०८०/०८१ को तुलनामा करिब १ खर्ब २० अर्ब रुपैयाँ बढी हो, जसले ११.३३ प्रतिशतको उल्लेख्य वृद्धिलाई देखाउँछ।
गत आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गरिएको थियो।
यस आर्थिक वर्षको लागि सुरुमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर अर्धवार्षिक समीक्षामा यसलाई संशोधन गर्दै १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो। संशोधित लक्ष्य अनुसार हालसम्म ९१.६० प्रतिशत राजस्व संकलन भइसकेको छ।
अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद् र विश्वव्यापी जटिल परिस्थितिहरूका बाबजुद पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक राजस्व संकलन भएको बताए।
उनले भने, “चालु आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पूरा गर्नका लागि तयारी सुरु भइसकेको छ र हामी त्यो दिशामा अघि बढ्नेछौं।”