आजदेखि धरहरा १२ घण्टा खुला, बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन

 आजदेखि धरहरा १२ घण्टा खुला, बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन

काठमाडौं, साउन १ ।काठमाडौंको ऐतिहासिक धरहरा आजदेखि दैनिक १२ घण्टा खुला हुने भएको छ। अबदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहने सहरी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार धरहरा अब दुई सिफ्टमा सञ्चालन हुनेछ र सार्वजनिक बिदाका दिनहरूमा पनि खुला रहनेछ। यसअघि धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला हुने व्यवस्था रहेको थियो।

“नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै धरहराको सञ्चालन समय विस्तार गरिएको हो,” प्रवक्ता मैनालीले बताए। उनका अनुसार धरहरा अवलोकन गर्न आउने पर्यटकहरूबाट समयावधि कम भएको गुनासो आएपछि समय थप गरिएको हो।

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा धरहरा ढलेपछि पुनःनिर्माण गरिएको धरहरा गत असोज ३ गते परीक्षण रूपमा र मंसिर ९ गतेदेखि शुल्कसहित सर्वसाधारणका लागि खोलिएको हो।

धरहराको पुनःनिर्माणपछि हालसम्म २ लाख ३७ हजार ६५ जनाले अवलोकन गरिसकेका छन्। धरहरा अवलोकनबाट सात महिनाको अवधिमा करिब ४ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) द्वारा धरहराको व्यवस्थापन भइरहेको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ अनुसार धरहराको सञ्चालन भइरहेको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *