ओलीको नेतृत्वलाई देवत्वकरणको गरिएकाे भनि व्याख्या गर्नु अनुचित : लेखराज भट्ट

 ओलीको नेतृत्वलाई देवत्वकरणको गरिएकाे भनि व्याख्या गर्नु अनुचित : लेखराज भट्ट

धनगढी, साउन २३ । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरणको गरिएकाे भनि व्याख्या गर्नु अनुचित हुने बताउनुभएकाे छ ।

वर्तमान राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व अपरिहार्य आवश्यकता भएको भएकाे उहाँकाे नेतृत्व आवश्कय रहेकाे भट्टले बताउनुभयाे ।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले अध्यक्ष ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उहाँले चालेका कदमको अर्थ समयसँगै स्पष्ट हुने अद्भुत क्षमता भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित होइन।’

भट्टले नेकपा एमाले हाल वैचारिक, सैद्धान्तिक र सांगठनिक दृष्टिले मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्रमा रहेकाे बताउनुभयाे ।  त्यसको सम्भावना र नेतृत्व अध्यक्ष ओलीकै हातमा रहेकाे पनि उहाँले स्पष्ट पार्नुभयाे। ‘राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र उहाँ नै हुनुहुन्छ, शक्ति, संगठन र जनसमर्थनको हिसाबले एमाले देशको एक नम्बर पार्टी हो’, उहाँले भन्नुभयाे ।

एमालेभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै सचिव भट्टले पार्टीले आत्मसुधारमार्फत ती समस्याहरूलाई समाधान गर्ने दिशामा अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले अध्यक्ष ओलीको सक्रियता, संकल्पशक्ति र नेतृत्व क्षमतालाई जोड दिंदै ओलीजस्तो खट्ने, सपना देख्ने र निरन्तर सक्रिय रहने नेता नेपालमा नभएकाे दाबी गर्नुभयाे ।

कार्यक्रममा बोल्दै सचिव भट्टले पार्टीभित्र बैठकमा समर्थन जनाउने तर बाहिर आलोचना गर्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने भन्दै त्यसले कुनै राजनीतिक मूल्य नहुने धारणा पनि राख्नुभयो।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई राष्ट्रको आवश्यकता भएको धारणा राख्नुभयो।

उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रेस चौतारीका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा लगायतको उपस्थिति रहेको छ ।

प्रदेश अध्यक्ष नरेन्द्र कार्कीका अनुसार सो प्रशिक्षण कार्यक्रममा प्रदेशभरका चौतारी प्रतिनिधिहरू, पत्रकार र पार्टीका प्रचार विभागमा संलग्न कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्कीले प्रशिक्षणमा संगठन सुदृढीकरण, सशक्त सञ्चार रणनीति, प्रेस स्वतन्त्रताको सुदृढीकरण र आगामी कार्ययोजनाबारे गहिरो छलफल गरिने जानकारी दिनुभयो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *