कृषि विकास बैंकको नाफा ४३.३९% ले वृद्धि, लाभांश क्षमता १८.४२%

काठमाडौं, साउन — कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.३९ प्रतिशतले वृद्धि भएको छ।
गत असार मसान्तसम्म बैंकले ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्षको २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँको नाफाभन्दा उल्लेखनीय वृद्धि हो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ रहेको छ, जसका आधारमा प्रतिशेयर १८ रुपैयाँ ४२ पैसा (१८.४२%) लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ।
बैंकको खराब कर्जा अनुपात (NPL) घटेर ३.२६ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्षको ३.९१ प्रतिशतभन्दा सुधार हो।
यस अवधिमा बैंकको सञ्चालन मुनाफा ४१.२७ प्रतिशतले वृद्धि भई ५ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने EPS २७ रुपैयाँ ६३ पैसामा सुधार भएको छ।
बैंकले निक्षेप २ खर्ब ९३ अर्ब ५७ करोड र कर्जा लगानी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ पुर्याएको जनाएको छ।