गुल्मी जिल्ला प्रशासनको अनुरोध : मनसुन सक्रिय, आवश्यकबाहेक यात्रा नगर्न आग्रह

गुल्मी, साउन २८ – मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार आगामी केही दिनसम्म देशभर मनसुन सक्रिय रहि मध्यमदेखि भारी वर्षाको सम्भावना रहने भएकाले गुल्मी जिल्लामा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न, खोलानाला तथा बाढी पहिरोको जोखिम भएका स्थानमा नजान र माछा मार्ने कार्य, खोलानालाबाट बालुवा, गिट्टी निकासीजस्ता गतिविधि नगर्न अनुरोध गर्नुभएको छ ।
वर्षा समयमा नदी किनार, पहाडी भूभाग तथा विपद्को सम्भावना भएका स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन अपील गरिएको छ।
जिल्ला प्रशासनले विपद्को सम्भावित जोखिम र आपतकालीन घटनाबाट बच्नका लागि स्थानीय तह र सुरक्ष निकायसँग सम्पर्कमा रहि आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ। साथै, सबै सम्बन्धित सरोकारवालालाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
प्रशासन जिल्ला अधिकारी कोइरालाले “बाँचौं र बचाऔं, समन्वय र सहयोग गरौं” भन्ने मूल मन्त्रसहित विपद् न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक भएको बताउनुभएको छ।