नाडा अटो शो २०२५ सुरु : प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल सहभागि

 नाडा अटो शो २०२५ सुरु : प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल सहभागि

काठमाडौं, साउन ३ — नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (NADA) ले आयोजना गरेको नाडा अटो शो २०२५ राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा आजदेखि सुरु भएको छ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संयुक्त रूपमा गर्नुभएको छ।

यस वर्षको अटो शो “Go For More” भन्ने नाराका साथ आयोजना गरिएको हो। अटोमोबाइल व्यवसायीहरूका अनुसार यो प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो सवारी साधन, पार्टपुर्जा र नवीन प्रविधि प्रदर्शनी हो।

प्रदर्शनीमा नेपालमै पहिलो पटक फ्लाइङ कार (Deepal eVTOL Flying Taxi) प्रदर्शन गरिएको छ।

यस्तै, UNITREE कम्पनीका अत्याधुनिक रोबोट, इलेक्ट्रिक तथा हाइब्रिड सवारी साधन, स्मार्ट मोबिलिटी समाधान र नवीनतम अटो प्रविधिहरू प्रदर्शनीमा राखिएका छन्।

यस वर्षको अटो शोमा १९ वटा चारपांग्रे ब्रान्ड, १४ हल्का व्यावसायिक सवारी र ४ दुईपांग्रे ब्रान्ड सहभागी भएका छन्।

७० भन्दा बढी प्रदर्शक कम्पनी र १२० भन्दा बढी स्टलमार्फत आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शनीमा प्रस्तुत गरिएको छ।

यो प्रदर्शनी साउन ३ देखि ८ गतेसम्म (अगस्ट १९–२४, २०२५) सञ्चालन हुने छ। दर्शकका लागि दैनिक बिहान १०:३० बजेदेखि बेलुका ७ बजेसम्म प्रदर्शनी खुला रहनेछ।

टिकट दर सामान्य दर्शकका लागि रु. १५० तोकिएको छ भने विद्यार्थीले छुट दरमा टिकट प्राप्त गर्न सक्नेछन्। साथै, Khalti एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। अनलाइन खरिदकर्ताले २० प्रतिशतसम्म क्यासब्याक सुविधा पाउनेछन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपाललाई इलेक्ट्रिक सवारीमैत्री देश बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

उहाँले प्रविधि र वातावरणमैत्री यातायात प्रणालीलाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभएको छ। यस्तै, अर्थमन्त्री पौडेलले अटोमोबाइल उद्योगले रोजगारी सिर्जना र अर्थतन्त्रको विकासमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ।

नाडा अटो शो २०२५ को उद्घाटन समारोहमा नाडाका अध्यक्ष करन चौधरीले विशेष रूपमा यसप्रकारका प्रदर्शनीहरूले नयाँ प्रविधि सम्बन्धी नवप्रवर्तनको पहुँच बढाउने चर्चा गर्नुभएको छ।

उहाँले उद्योग र उपभोक्ताबीचको सम्बन्ध मजबुत गर्ने, साथै नेपाली बजारमा आधुनिक सवारी साधानहरुको प्रवेशलाई सहज बनाउने भूमिका खेल्ने बताउनुभएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *