काठमाडौं–हेटौंडा करिडोरमा पोडवे निर्माणको तयारी, DPR बनाउन पोडवे प्रालिलाई जिम्मेवारी

काठमाडौं, भदौ ६ । काठमाडौं–हेटौंडा करिडोरमा पोडवे निर्माणको तयारी औपचारिक रुपमा अगाडि बढेको छ। लगानी बोर्ड नेपाल (IBN) ले नयाँ पोडवे प्रणालीको “विस्तृत परियोजना प्रतिवेदन (DPR)” तयार गर्ने जिम्मेवारी काठमाडौं पोडवे प्रालिलाई प्रदान गरेको हो।
शुक्रबार प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो। प्रारम्भिक चरणमा काठमाडौं–हेटौंडा करिडोरलाई प्राथमिकता दिइएको छ भने यसलाई दीर्घकालीन रुपमा वीरगन्जसम्म विस्तार गर्ने योजना रहेको छ।
प्रस्तावित पोडवे पुरानो रोप–वेको रुटमै निर्माण गरिनेछ, जसको लम्बाइ करिब ४२ किलोमिटर हुनेछ। यसमार्फत यात्रुका साथै सामान (कार्गो) समेत ढुवानी गर्न सकिनेछ। यसमा ५ वटा स्टेशन रहनेछन् भने २०–फुट र ४०–फुटका कन्टेनर समेत ढुवानी गर्न सक्ने सुविधा रहनेछ।
नेपाल सरकारले काठमाडौं–हेटौंडा खण्डको DPRका लागि बजेट छुट्याइसकेको भए पनि पोडवे प्रालिले यसलाई निजी लगानीमै अघि बढाउने तयारी गरेको जनाएको छ।
परियोजनाको दोस्रो चरणमा काठमाडौं–हेटौंडा खण्डलाई वीरगन्ज सुक्खा बन्दरगाहसँग जोड्ने योजना रहेको छ, जसले करिब १०० किलोमिटरको वीरगन्ज–हेटौंडा–काठमाडौं करिडोरलाई निरन्तरता दिनेछ। यसबाट व्यापार, यातायात र अर्थतन्त्रमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूले यसलाई नेपालको पूर्वाधार विकासमा एक महत्त्वपूर्ण कोसेढुंगा (Milestone) को रुपमा लिएका छन्।