प्रधानमन्त्री ओली चीन प्रस्थान, एससिओ सम्मेलनमा सी र पुटिनसहितका शीर्ष नेतासँग भेटवार्ता हुने

 प्रधानमन्त्री ओली चीन प्रस्थान, एससिओ सम्मेलनमा सी र पुटिनसहितका शीर्ष नेतासँग भेटवार्ता हुने

काठमाडौँ, १४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली आज चीन प्रस्थान गर्नुभएको छ।

उहाँ साङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीनको जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनतर्फ जानुभएको हो।

प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गते (अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म चीनको तियानमिन सहरमा हुने शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

विश्वकै ठूलो क्षेत्रीय सुरक्षा–आर्थिक संगठनका रूपमा परिचित एससिओको शिखर सम्मेलनमा नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने र बहुपक्षीय सहकार्यमा नेपालको सक्रिय भूमिकालाई प्रस्तुत गर्ने अवसरको रूपमा लिइएको छ।

भ्रमण कार्यतालिका

  • भदौ १४ (अगष्ट ३०): प्रधानमन्त्री ओली चीन प्रस्थान, राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता।

  • भदौ १६ (सेप्टेम्बर १): तियानमिनमा आयोजना हुने एससिओ शिखर सम्मेलनमा सम्बोधन, चीन, रुस, भियतनाम, माल्दिभ्स, लाओ पिपुल्स र क्याम्बोडियाका राष्ट्र÷सरकार प्रमुखसँग भेटवार्ता।

  • भदौ १७ (सेप्टेम्बर २): तियानमिनबाट बेइजिङ प्रस्थान, चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता।

  • भदौ १८ (सेप्टेम्बर ३): जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवमा सहभागिता, त्यसै रात स्वदेश फर्किने कार्यक्रम।

यसपटकको भ्रमणमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चस्तरीय अधिकारीहरू सहभागी रहेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *