नेपाल बीमा प्राधिकरणमा अध्यक्ष पदका लागि आवेदन खुला
काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ।
वित्तीय क्षेत्र, विशेषगरी बीमा व्यवसायसँग सम्बन्धित क्षेत्रमा अनुभव, शैक्षिक योग्यता र आवश्यक मापदण्ड पूरा गर्ने व्यक्तिहरूले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।
सूचना अनुसार उम्मेदवारले कम्तीमा स्नातक तह पास गरेको हुनुपर्नेछ। साथै, वित्त, बीमा, वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, कानून वा सम्बन्धित क्षेत्रमा ज्ञान, अनुभव र कार्यक्षमता भएको हुनुपर्नेछ।
आवेदनकर्ताले तोकिएको ढाँचामा फाराम भरेर नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र लगायतका आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ।
उक्त पदका लागि आवेदन पेस गर्न इच्छुकले ३० दिनभित्र अर्थ मन्त्रालयको बीमा महाशाखामा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
