प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न
१४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको थियानजिनस्थित अतिथि गृहमा औपचारिक द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
भेटमा दुई देशबीचको परम्परागत मित्रवत सम्बन्ध, आपसी विश्वास र सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै मुलुकले व्यापार, पूर्वाधार, ऊर्जा, संस्कृति र जनस्तरसम्मको आदान–प्रदानलाई अझ बलियो बनाउन संयन्त्रहरू सक्रिय रूपमा अघि बढाउने समझदारी गरेका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्रीले राष्ट्रपति सीसँगको वार्तामा सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका सम्पूर्ण भूभाग नेपालकै सार्वभौम क्षेत्र भएको दोहोर्याउनुभएको हो।
नेपालले यस मामिलामा चीनबाट सहयोगको अपेक्षा लिएको भन्दै सचिव राईले भने, “लिपुलेक नेपालको अभिन्न भूमि हो भन्ने नेपाल सरकारको अडानप्रति राष्ट्रपति सीलाई प्रष्ट रूपमा जानकारी गराइएको छ।”
यसअघि भारतले नेपालको दाबीलाई अस्वीकार गर्दै लिपुलेख मार्गमार्फत व्यापार गतिविधि दशकौंदेखि चल्दै आएको जनाएको छ।
तर नेपालको राजनीतिक दलहरू र नागरिक समाजले यसलाई सार्वभौमिकताको उल्लङ्घन भन्दै सरकारलाई कडा कूटनीतिक पहल गर्न आग्रह गरिरहेका छन्।
प्रधानमन्त्री ओली हाल चीनमा जारी साङ्घाइ सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भइरहनुभएको छ, जहाँ उहाँले लिपुलेक मुद्दालाई समेत अन्तर्राष्ट्रिय स्तरमा उठाउने अपेक्षा गरिएको छ।
