बलियो पार्टी र सक्षम नेतृत्वबिना देशको विकास सम्भव छैन : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी, भदौ १४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई समुन्नत मार्गमा लैजान बलियो राजनीतिक पार्टी र सक्षम नेतृत्व अपरिहार्य हुने बताएका छन्।
शनिबार रुपन्देहीको मर्चवारमा आयोजित एमालेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले एमाले मात्र देशको नेतृत्व गर्ने योग्य पार्टी भएको दाबी गरे। पार्टीप्रति जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गर्दै उनले हजारौँ नागरिक, पूर्वअध्यक्षसहित एमाले प्रवेशले संगठन अझ मजबुत बनेको बताए।
“बलियो पार्टीबिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज जनताले एमाले रोजेका छन्,” पौडेलले भने, “यसबाट म निकै खुसी छु।”
पौडेलले मर्चवारलाई आगामी दुई–चार वर्षभित्र बुटवल, भैरहवा र लुम्बिनी जस्तै सम्पन्न क्षेत्रमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए। उनले अस्पताल, क्याम्पस निर्माणदेखि पूर्वाधार विकासका लागि सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन पनि दिए।